
काठमाडौं, २० जेठ । वरिष्ठ सौन्दर्यविद् एवं सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले सौन्दर्य कला व्यवसायसँग सम्बद्ध व्यवसायी र श्रमिकहरू पनि फ्रन्टलाइनर भएको बताएकी छिन् ।
सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष समेत रहेकी श्रेष्ठले बुधबार एक प्रेस विज्ञिप्त जारी गर्दै कोभिड–१९ विरुद्धको खोपमा आफूहरूलाई पनि प्राथमिकतामा पार्न सरकारसँग माग गरेकी छिन् । जारी निषेधाज्ञा तथा बन्दाबन्दीपछि तुरुन्तै फ्रन्टलाइनरका रूपमा आफूहरु व्यवसायमा सक्रिय हुनुपर्ने भन्दै संघले यथाशीघ्र खोपको व्यवस्थापन गरिदिन माग गरेको हो ।
सरकारले विभिन्न वर्ग र क्षेत्रलाई प्राथमिकतामा राखेर खोप लगाइरहेको अवस्थामा सौन्दर्य व्यवसायसँग सम्बन्धित व्यवसायी तथा श्रमिकहरुलाई पनि खोपको प्राथमिकतामा राख्न उनले आग्रह गरेकी हुन् ।
विश्वव्यापी रूपमा फैलिएको विद्यमान महामारीको उपचार भनेकै खोप भएकाले सम्पूर्ण नेपालीका लागि खोपको सहज व्यवस्थापन गर्न पनि सरकारलाई उनले आग्रह गरेकी छिन् । कोरोना भाइरसको दोस्रो लहरबाट देश प्रभावित भइरहेको बेलामा सौन्दर्य कला व्यवसायसँग आश्रित श्रमिक वर्गलाई दैनिकी गुजार्न समेत मुश्किल परिरहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघीय र स्थानीय प्रशासनबाट जारी सूचना एवम् निर्देशनको परिपालना आफूहरुले गर्दै आएको र पालना गर्ने क्रममा विभिन्न समस्या आइपरेको श्रेष्ठको भनाइ छ । ‘सौन्दर्य कला व्यसायमा आश्रित श्रमिक वर्गलाई दैनिकी गुजार्न समेत मुश्किल परिरहेको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा लेखिएको छ, ‘यो महामारीको उपचार भनेकै अहिले यसविरुद्ध दिइने खोप हो । तर, नेपालमा सामाजिक उत्तरदायित्व हेरेर खोप लागाइराखिएकाले सौन्दर्य व्यवसाय गर्नेहरु पनि भोलीका दिनमा फ्रन्टलाइनमा आएर कार्य गर्नुपर्ने भएकाले यस व्यवसायमा रहेकालाई विषेश प्रथामिकतामा राखी भ्याक्सिनको यथाशीघ्र व्यवस्था गरिदिनहुन नेपाल सरकारलाई अनुरोध गर्दछु ।’















प्रतिक्रिया