शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कता जानुपर्थ्यो कम्युनिष्ट आन्दोलन ? कता जादैछ ?

निर्मल भट्टराई २०७८ जेठ २० गते १०:११

निर्मल भट्टराई

नेपालको कम्युनिष्ट आन्दोलन विभिन्न आरोह अवरोहबाट अगाडि बढिरहेको छ । एउटा सानो कोठाबाट शुरु भएको नेपालको कम्युनिष्ट आन्दोलन आज सत्ता चलाउने तागत बोकेर बसेको छ । तृणमूल तहसम्म कम्युनिष्ट पार्टीको उपस्थिति छ, नेतृत्व छ ।

नेपालको कम्युनिष्ट आन्दोलनले नेपालको राणा शासन हटाउन सानो पैमानाको आन्दोलन गर्यो, पञ्चायत फाल्न नेतृत्वदायी भूमिका अदाह गर्यो, राजतन्त्रको उच्छेद गर्ने आन्दोलनमा सबभन्दा प्रमुख भूमिका खेल्यो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा युगीन भूमिका निर्वाह गर्यो । लोकतान्त्रिक एवं समाजवादउन्मुख संविधानको निर्माण गर्यो ।

सात दशकको अवधिमा नेपालको कम्युनिष्ट आन्दोलनले हासिल गरेका यी उपलब्धि असाधारण उपलब्धि हुन् । सर्वहारा श्रमजीवी वर्गको हित रक्षाको लागि कम्युनिष्टहरूले सत्ता प्राप्त नगरी संभव नहुनेबारे नेपालको प्रमुख दुई धार नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीच मतैक्य भएकै कारण संविधान निर्माणपछिको आम निर्वाचनमा उनीहरूको गठबन्धन संभव भएको हो ।

समग्रमा वर्तमान कम्युनिष्ट आन्दोलनको नेतृत्व के पी शर्मा ओली, ईश्वर पोखरेल,माधव नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य ‘किरण’ र मोहनविक्रम सिंहले गरिरहनु भएको छ । वहाँहरूको एकता र सहकार्यले नै नेपालको कम्युनिष्ट आन्दोलनको भविष्य निर्धारण गर्दछ ।

कम्युनिष्ट आन्दोलनलाई पछिल्लो चरणमा एकताबद्ध बनाउन एमालेका अध्यक्षले सबभन्दा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । देशलाई समृद्ध बनाउन सकिन्छ भने, कम्युनिष्टहरूको रणनीतिक लक्ष समाजवादमा मुलुकलाई डोहोर्याउन सकिन्छ भने, जननेता मदन भण्डारीले भनेबमोजिमको ‘सामन्तवाद र साम्राज्यवादविरोधी राज्यसत्ता’ कायम गर्न सकिन्छ भने र दशकौंदेखि टुट फुटमा रहेको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन सकिन्छ भने हदैसम्मको लचिलो भएर एमाले-माओवादी एकतापछि पार्टीमा बन्न सक्ने शक्ति सन्तुलनलाई समेत नजर अन्दाज गरी पार्टी एकताको लागि तयार हुनुभएको थियो ।

जनपरिचालन र जनअनुमोदित हुदै आएको एमालेको नेतृत्व पङ्क्ति र जनयुद्धको भट्टिबाट खारिएर आएको माओवादी केन्द्रको नेतृत्च पङ्क्तिलाई सङ्घर्ष-एकता-सङ्घर्षको माध्यमद्वारा नवगठित पार्टीलाई अगाडि बढाउन सकिन्छ भन्ने उच्च मनोबलका साथ के पी ओली अगाडि बढेको देखिन्छ । एमाले महासचिव ईश्वर पोखरेलले एक वैचारिक नेता हुनुको नाताले एमाले-माओवादी पार्टी एकता गर्दा ‘ग्रे एरिया’ राख्नु हुदैन, विचारमा प्रष्ट भएरमात्र पार्टी एकतालाई सही र भवनात्मक उचाईमा पुर्याउन सकिन्छ भन्नु भएको थियो ।

वहाँको त्यो पुनित अवधारणलाई त्यतिबेला उल्टो खेलाईयो, वहाँलाई पार्टी एकताविरोधी ट्याग झुण्ड्याईयो । एमाले ब्युँझिएपछिको पछिल्लो अवस्थामा कमसेकम नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एमालेलाई एकताबद्ध र झन मजबुत बनाएर लैजान अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओली र महासचिव ईश्वर पोखरेल अहोरात्र खट्नु भएको देखिन्छ । तर वहाँहरूलाई नै पार्टी एकताविरोधी भन्न छोडिएको छैन । हुर्मत काड्न छोडिएको छैन ।

नेपालको कम्युनिष्ट आन्दोलनमा मात्र होइन, नेपालकै राजनीतिक आन्दोलनमा नेकपा(एमाले) वैचारिक रुपले समृद्ध, सांगठानिक रुपले सबल र चरित्रको हिसाबले सबभन्दा लोकतान्त्रिक पार्टी थियो र छ । यो विषय एमाले पङ्क्तिले मात्र अनुभूत गरिएको होइन, अरू पार्टीभत्र पनि चर्चाको विषय बन्दै आएको छ । एमालेको एकमात्र दुःख त्यसभित्र झाङ्गिदै गएको गुटबन्दी थियो । आखिर एमालेभित्र झाङ्गिएको त्यही गुटबन्दीले एमाले-माओवादी एकतालाई निष्कर्षमा पुग्नै नदिई अवसान गराईदियो । एमालेभित्रको गुटबन्दीलाई तन्काएर एमालेको अजेय शक्तिलाई झण्डै तहस-नहस बनाइदियो । यसको ह्याङओभरस्वरुप एमाले ब्युँझिएपछि पनि यसले आफ्नो सामान्य जीवनमा फर्कन दिएको छैन ।

अचम्म त के छ भने प्रथम कम्युनिष्ट राष्ट्रपति (दोश्रो कार्यकाल) विद्या भण्डारीले संविधानबमोजिम सम्पादन गर्नु भएको कामलाई कुनै बेलाका सहकर्मीहरूले नै सबभन्दा विरोध गरेका छन् । संवैधानिक-आलङ्कारिक राष्ट्रपतिलाई ‘तानाशाह’को ट्याग झुण्ड्याईदिएका छन् । जनताको वलिदानबाट प्राप्त गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई हिलो छ्याप्ने काम गरिरहेका छन् । उहाँलाई संवैधानिक तवरले गरिएको सरकारको सिफारिसलाई स्वीकार गरिएको विषयलाई आलोचनाको विषय बनाइएको छ । कोराना महामारीबाट नेपाली जनतालाई बचाउन खोप सहयोग माग्दै खोप उत्पादन गरिरहेका देशका समकक्षीलाई राष्ट्रपतिबाट गरिएको पत्रचारलाई ‘राष्ट्रपति सक्रिय हुन खोजेको’ भन्दै आलोचना गरिएको छ ।

आफूलाई मात्र सक्कली कम्युनिष्ट भन्नेहरूले देशका कम्युनिष्ट मतदाताले जिताएर पठाएको कम्युनिष्ट सरकार ढाल्न दक्षीणपन्थी प्रतिक्रियावादीसंग खुलमखुल्ला साँठगाँठ गरेका छन् । नेता माधब नेपाल र प्रचण्डलाई के पी शर्मा ओली, विद्या भण्डारी र ईश्वर पोखरेलभन्दा देउबा नजिक लाग्न थालेको छ । ‘खतरामा परेको नेपालको जोगाउन यस्तो साँठगाँठ गर्नु परेको’ लज्जास्पद स्पष्टीकरण फर्मान गरिरहेका छन् । चीनको जस्तो नौलो जनवादी व्यवस्था स्थापना लागू गर्ने लक्ष सहित राजनीतिमा होमिएर दशकौं पार गरेका कम्युनिष्ट नेताहरूको मुखारवृन्दबाट आएका यी बाणीहरू टीठलाग्दा छैनन् र ?

कहिले आपसमा लडेर, कहिले आफू-आफू मारकाट गरेर र कहिले मिलेर नेपालको कम्युनिष्ट आन्दोलन यहाँसम्म आईपुगेको छ । नेपालको कम्युनिष्ट आन्दोलन रक्तपातपूर्ण तनाव र गुलाबी ओछ्यानको सहवास हुदै यहाँसम्म आईपुगेको छ ।

विडम्बना नै भन्नुपर्छ, यति उचाई कायम गरेर पनि, यति धेरै युगीन उपलब्धि हासिल गरेर पनि यसले आफ्नो सही दिशा पक्रन सकेको छैन । देशको समृद्दि र समाजवादलाई साझा लक्ष बनाउन सकेको छैन । देशको गरिबी र पछौटेपनलाई साझा शत्रु बनाउन सकेको छैन । देशको उत्तरी छिमेकी भीमकाय चीनलाई सत्तरी बर्षभन्दा बढी नेतृत्व गर्दा त्यहाँका कम्युनिष्टहरूले कायम गरेको आन्तरिक एकता, नेतृत्वको सोपान, अल्पकालीन दीर्घकालीन भिजनको अलिकति प्रभाव हाम्रो देशको कम्युनिष्ट आन्दोलनमा परेको भए ? अरुको नेतृत्व निस्चित समयसम्म सहने धैर्य भएको भए ? कम्युनिष्टहरूले कम्युनिष्ट विचारधाराको ‘लक्ष्मणरेखा’ पटक-पटक निर्लज्जतापूर्वक ननाघेको भए ? हामी अर्कै उचाईमा पुग्ने थियौं ।

 

 

प्रतिक्रिया
सम्बन्धित