शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

विद्यालय बन्द भएको अवस्थामा बाल बालिकाको पढाईमा अभिभावकले कसरी सहयोग गर्ने त ?

विश्व विनोद २०७८ जेठ १६ गते १५:१३

‍-विश्व विनोद

काठमाडौँ, १६ जेठ । एक विद्यालयमा कक्षा ३ को बाबुनानीलाई शिक्षकले पढाउँदै हुनुहुन्थ्यो । उहाँले बाबुनानीलाई स्वर्ग र नर्गको बारेमा निकै आकर्षक ढंगले पढाउँदै हुनुहुन्थ्यो ।

पढाईको अन्त्यमा शिक्षकले भन्नु भयो, ल बाबु नानीहरु भन त, कसलाई स्वर्गमा जाने मन छ ? सरको प्रश्न भुँईमा खस्न नपाउँदै कक्षाका सबै विद्यार्थीले हात उठाए तर नरेन्द्र नामको एक बालकले हात नै उठाएनन् तर मुस्कानका साथ बसिरहेका थिए ।

फेरी शिक्षकले त्यो बालक झुक्कियो कि भनेर प्रश्न दोहोर्याएर सोध्नु भयो तर नरेन्द्रले हात नै उठाएनन् । शिक्षकले उनको नजिक गएर सोध्नु भयोः नरेन्द्र के तिमीलाई स्वर्ग जान मन लाग्दैन ? नरेन्द्रल उत्तर फर्काएः अहँ लाग्दैन ।

नरेन्द्रको उत्तर सुनेर कक्षाका उनका सहपाठीहरु गलल्ल हाँसे, तर शिक्षकलाई नरेन्द्रको धारणा के रहेछ भनेर बुझ्न मन लागेर फेरी सोधेः नरेन्द्र किन तिमी यस्तो उत्तर दिई रहेका छौ ? नरेन्द्रले विस्तारै बेन्चबाट उभिएर भनेः सर मलाई त्यो स्वर्ग जानु छैन तर त्यो स्वर्ग जस्तै यो धर्तिलाई बनाउनु छ ।

यही धर्ती स्वर्ग बन्न सक्छ । तिनै नरेन्द्र नामका बालक पछि बिबेकानन्दको रुपमा स्थापित भए अनि ३९ बर्षको उमेरमा देहान्त भएर पनि विश्व प्रसिद्ध भए ।

माथिको कथामा जस्तै एकदम अनुशासित र तिक्ष्ण स्वभावको बाल बच्चा हेर्ने रहर सबै अभिभावकलाई हुन्छ नै । खेति बाली अर्काको र बाल बालिका आफ्नो राम्रो भन्ने उखानै पनि छ ।

बाल बालिकामा हामीले समय र श्रोतको लगानी गरेर सुनौलो भविष्य र सम्बृद्ध जीवनको कल्पना गर्छौ नै तर पनि हामीले सोचे अनुसार बाल बालिकालाई प्रभाव पार्न सकिरहेका हुँदैनौँ । यसमा अभिभावकको उत्तरदायिपूर्ण भूमिकाले निकै महत्व खेल्ने गर्दछ ।

बाल कथा लेखक तथा लामो समय सम्म बाल अधिकारको क्षेत्रमा काम गर्नु भएका बाल अधिकार कर्मी नवीन चन्द्र घिमिरेका अनुसार, यस्तो बन्दाबन्दीका बेलामा बालबालिकाको सिकाइमा अभिभावकले कसरी सहयोग गर्ने भन्ने सन्दर्भ धेरैवटा पक्षहरूले निर्धारित हुन्छन् ।

बालबालिकाको पारिवारिक परिस्थिति, हुर्काइको परिवेश, उमेर समूह तथा शारीरिक सक्षमताका आधारमा यस्तो सन्दर्भ निर्धारण हुन सक्छ ।

शैक्षिक पाठ्यक्रम वा साङ्गठनिक सिकाइ पद्धतिका अलावा बालबालिकाको सामाजिकीकरणको सिकाइको अवसर नै यस्तो बेलामा महत्त्वपूर्ण हुनसक्छ, जस्तो यतिबेला आफ्नो परिवारको नाता सम्बन्धबारेमा यथेष्ट जानकारी दिने अभिभावकका बाल्यकालका अनुभूतिहरूका बारेमा बताएर उनीहरूलाई तात्कालीक परिवेशका बारेको सिकाइ पनि उपलब्ध गराउन सकिन्छ ।

अहिले प्रविधिको समय भएको हुनाले उनीहरूको स्तरअनुसार अनुकूलका प्राविधिक सीप तथा ज्ञानहरूको सिकाइ पनि महत्त्वपूर्ण हुन सक्छ ।

अध्ययनका विषयवस्तुहरू पनि पाठ्यक्रमको साङ्गठनिक ढाँचाभन्दा अलि पृथक ढङ्गले दिएर उनीहरूको सिकाइमा सहयोग पुर्याउन सकिन्छ । औपचारिक शिक्षण सिकाइको ढाँचाभन्दा अलि फरक हुने गरी सिकाइ गर्नका लागि सङ्कटजन्य भनिएका यस्ता परिस्थितिहरू मुख्य अवसर बनेर आएका हुन्छन् भनेर घिमिरेले बताउनुहुन्छ ।

बिशेष गरि बिद्यालय बन्द हुँदा बाल बालिकाको समय निरर्थक तरिकाले व्यतित भै रहेको हुन्छ । सचेत अभिभावकले पनि बाल बालिकाको समय व्यबस्थापन नगरिदिँदा बाल बालिकाले सिक्ने समयमा उचित रेखदेख नपाउन सक्दछन् ।

यसको लागि अभिभावकले बिभिन्न कुरामा ध्यान दिने हो भने बाल बालिकाको पढाईमा मात्र हैन बहुआयामिक पाटोमा सघाउ पुग्न थाल्दछ । जसलाई तल उल्लेख गरिएको छ ।

१. सबै भन्दा पहिले बालबालिकासँग मिलेर नियम बसाल्नुहोस्

बालबालिकालाई नियम बनाएर लाद्नु भन्दा उनीहरुको सहभागिताको आधारमा कुन समय पढ्ने, कुन समय खेल्ने, कुन समय मोबाईल या ल्यापटप हेर्ने, कुन समय टिभि हेर्ने जस्ता नियम बनाउनुहोस् र त्यसको पालन अभिभावक आफैले पनि उक्त समयलाई पालन गर्नुहोस् ।

बाल बालिकाले पढेको बेला अभिभावकले मोबाईल चलाउने, टिभि हेर्ने गर्दा बाल बालिकालाई फरक महसुस हुन्छ तसर्थ बाल बालिकासँगै बनाएको नियममा आफूलाई रुपान्तरित गर्नुहोस् । याद राख्नुहोला, यदि तपाईले नियम मान्नु भएन भने बाल बालिकाले पनि नियम मान्दैनन ।

२. कोलाज बनाउन लगाउने

बिद्यालय बन्द हुँदा बाल बालिकाको श्रृजनशीलतालाई खेर जान नदिन घरमा भएका पुराना किताब, पत्र पत्रिका, बारिका फलफुल आदिको संकलन गरेर कोलाज बनाउन दिने हो भने बाल बालिकाको समय पनि व्यतित हुने र श्रृजनात्मक सीपको बिकास हुने गर्दछ ।

३. रंगको उत्पादन आफैं गर्न लगाउने

बाल बालिकाहरु उत्सुकताले भरिएका हुन्छन् । हाम्रो घर वरिपरि बिभिन्न फलफूल र बिरुवाहरु पाईन्छन् । तिनको संकलन बाबु नानीलाई बिभिन्न रंगको उत्पादन गर्न लगाउनुहोस् यसले गर्दा कुन बिरुवा बाट कस्तो रंग पाईन्छ र कुन रंगमा कुन रंग मिसाउँदा अर्को रंग बन्छ भन्ने बाबु नानीले आफैं बुझ्न सक्दछन् । यो कार्यलाई प्रोजेक्ट वर्कको रुपमा गर्ने र कार्य सम्पन्न भए पछि प्रोत्साहन स्वरुप मिठो परिकारहरु बनाएर पुरस्कृत गराउन सकिन्छ ।

४. घरका मानिसको जीवनी बताएर बाबुनानीलाई उनीहरुको भाषामा लेख्न लगाउने

अहिले अधिकांश घरमा परिवारको सदस्य बीचमा अन्तरसम्बाद निकै कम हुन लागेको छ । यसको मुख्य जड भनेको नयाँ प्रबिधि अर्थात मोबाईल, टिभि र ईन्टरनेटले हो । हामी मोबाईल र टिभिमा रमाउँदै गर्दा परिवारमा अन्तरसम्बाद कम भैरहेको पाईएको छ ।

तसर्थ परिवारका सबै सदस्यलाई उपयुक्त हुने समयमा हरेक सदस्यले आफ्ना बिचार राख्ने समय बनाउने र त्यस बेला पालै पालो आफ्ना जीवनी बताउने, पुर्खाहरुको बारेमा बताउने र बाबुनानीलाई पनि उनीहरुको जन्म देखि अहिले सम्मको जीवनको यात्राको बारेमा बताउन समय दिने र लेख्न सक्ने बाबु नानीलाई हरेक सदस्यको जीवनी उनीहरुको भाषामा नै लेख्न दिँदा निकै रोचक वातावरण हुन्छ र ति जीवनीहरुलाई हरेक दिन सुनाउन लगाउने हो भने बाल बालिकामा सृजनात्मक लेखनको कलामा निखारता आउँदछ ।

५. भविष्यको लक्ष्यको बारेमा लेख्न लगाउने र के के गर्न सकिन्छ छलफल गर्ने

बाल बालिकामा माथि विवेकानन्दको कथा जस्तै नयाँ पन गरौं भन्ने सोच हुन्छ नै तर त्यसलाई आकार दिनमा अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ तर साँच्चै भन्ने हो भने के पढेर कुन पेसामा लागिन्छ भन्ने अधिकांश बाल बालिकालाई थाहा हुँदैन ।

यसको लागि अभिभावकले बाल बालबालिकालाई कागजमा भविष्यको लक्ष्यको बारेमा लेख्न लगाउने र त्यो लक्ष्य प्राप्त गर्न के के गर्नु पर्दछ र अहिले बाट नै के के सिप बढाउन आवश्यक पर्दछ भनेर लेख्ने या छलफल गर्ने र अभिभावकले डायरीमा उक्त कुरा लेखेर राख्ने र बेला बेलामा बाल बालिकालाई उनीहरुको लक्ष्य र उद्धेश्यका लागि झक्झक्याउन सकिन्छ ।

६. आदर्श व्यक्तिको बारेमा भन्न र लेख्न लगाउने

बाल बालिकालाई कुनै सफल व्यक्तिको जीवनीले निकै प्रभाव पारेको हुन्छ या त्यस्ता व्यक्तिको जीवनी सुनाएर अनुशासनको लागि अभिप्रेरित गराउन सकिन्छ ।

यसको लागि अभिभावकले ईन्टरनेट, किताब या प्राप्त ज्ञानको आधारमा बिभिन्न सफल व्यक्तिको बारेमा जीवनी सुनाउने र बाबु नानीले लेख्न सक्ने उमेरका छन् भने उक्त कुरालाई बाल बालिकाको शब्दमा लिपिबद्ध गराउने र भन्न लगाउने हो भने बाल बालिकाको लेखनकला र अभिव्यक्ती गर्ने सिपमा बढावा पुग्न सक्दछ ।

७. उन्न, बुन्न, सिलाउन सिकाउने

बाल बालिकाहरुलाई सियोले घोच्छ, कैंचीले काट्छ भनेर यस्ता बस्तुवबाट टाढै राखिने चलन अधिकांश अभिभावकको पाईन्छ । यो निकै गलत अभ्यास हो ।

साना बाल बालिकालाई यि तिखा र धारिला बस्तु बाट जोगाउनु त पर्छ तर बिद्यालय उमेरका बाल बालिकालाई सियो, कैंची, कुरुस दिएर उन्न, बुन्न र सिलाउन सिकाउनु पर्दछ ।

सियोमा धागो छिराउन सिकाउने र च्यातिएका कपडा सिलाउन सिकाउँदा बाल बालिकाको मोटर स्किल बढ्नेमात्र हैन स्वावलम्बन सिपमा पनि बिकास हुन्छ । बाल बालिकाले उनका कपडा उन्न सिके भने उनीहरुमा आत्मबल बढ्ने, जीवन उपयोगी सिपको बिकास हुने तथा स्वावलम्बन सिपको बिकास हुने गर्दछ ।

८. भान्साका काम सँगै गर्नुहोस्

ग्याँसको असर पर्छ भनेर, धारिलो बस्तुले काट्छ भनेर, आगोले पोल्छ भनेर बाल बालिकालाई आगो वरपर र भान्सामा जान पनि नदिने चलन अधिकांश अभिभावकमा रहेको पाईन्छ । यसको फलस्वरुप ठूलो कक्षामा जाँदा पनि बाल बालिकाले खान पकाउन नसक्ने बानीको बिकास हुन्छ । यसले बालबालिकालाई परनिर्भरता तर्फ उन्मुख गरेको पाईन्छ ।

एक कुरा सोच्नुस् त , कक्षा १० पढ्ने बाबु नानी मध्य कति प्रतिशतलाई चामल निफन्न आउँछ ? पछि आमा बुबाको अनुपस्थितिमा चामल आफै निफनेर खाने बाल बालिका कति होलान् ? हो यस्तै परनिर्भरता हटाउने काम सिकाउन र बालकलाई जीवन उपयोगी काम सिकाउन र स्वावलम्बनको बाटोमा लगाउन उनीहरुको उमेर अनुसारको र रुची अनुसारको भान्साको काममा लगाउन सकिन्छ ।

तरकारी पकाउँदा के पछि के हाल्ने, कसरी पकाउने, अरु परिकार कसरी पकाउने भन्ने सिप पनि सिकाउन सकिन्छ । लामो समय सम्म बाल बालिकाको क्षेत्रमा कार्यरत बिना गोलेका अनुसार बाल बालिकालाई खेलौना बजारबाट किनेर ल्याउनु भन्दा भान्सामा भएका समाग्रिबाट नै खेल खेलाउँदा झन राम्रो हुन सक्छ , यसले बजारमा किनेर ल्याईएका सामाग्रिको रासायानिक असरबाट पनि मुक्त गराउन सकिन्छ ।

९. अनलाईन प्रतियोगिता संचालन

यो बेला अनलाईनका बिभिन्न माध्यमहरु हामी माझ छन् जस्तै स्काईप, जुम, माईक्रोसफ्ट टिम, फेसबुक आदि । ईन्टरनेट भएका घरका सबै अभिभावक मिलेर बाबुनानीको बीचमा बिभिन्न प्रतियोगिता संचालन गर्न सकिन्छ ।

उमेर र कक्षागत स्तर मिल्ने अभिभावक आफैं मिलेर बिभिन्न जिम्मेवारी दिएर दैनिक, साप्ताहिक, पाक्षिक या मासिक अनलाईन प्रतियोगिता संचालन गर्ने र अभिभावक बिचमा नै सानो रकम उठाएर बाल बालिकालाई पुरस्कृत गर्न पनि सकिन्छ ।

यसले बाल बालिकालाई प्रतिस्पर्धाको भावनाको बिकास गराउँदछ । अनलाईन प्रतियोगितामा हाजिरीजवाफ, चित्रकला, निबन्ध, बाद विवाद, भाषण कला, कविता , गजल, मुक्तक, हाईकु लेखन तथा वाचन प्रतियोगिता , टिकटकमा भिडियो बनाउने प्रतियोगिता संचालन गर्न सकिन्छ ।

यसका अलावा हस्तलेखन प्रतियोगिता, कथा वाचन प्रतियोगिता, फोटोग्राफी प्रतियोगिता पनि संचालन गर्न सकिन्छ । यसको लागि अभिभावक मिलेर निर्णायक मण्डल बनाउनु पर्दछ ।

१०. डकुमेन्ट्रि हेर्ने र छलफल गर्न लगाउने तथा सारांश लेख्न लगाउने

बाल बालिकालाई हामीले हुकुमी शासन लाद्न खोजेका हुन्छौं । निर्देशनात्मक आधारमा बाल बालिकालाई हामीले हुर्काएको छौं भने हामी गलत अभिभावकिय भूमिकामा हुन सक्छौं । हामीले बाबु नानीलाई “लेख” या “पढ” भन्नुको सट्टा “लेखौं ” र “पढौं” भन्ने संस्कृतिको बिकास गर्न जरुरी हुन्छ ।

अझ हामीले बाल बालिका मोबाईलमा युट्युबमा झुम्मिईरहँदा जुन पायो त्यही वेभसाईट हेर्न दिई रहेका हुन्छौं तर हामी उनीहरुसँग बसेर मोबाईलामा बिभिन्न डकुमेन्ट्रि हेर्ने र हेरी सकेपछि सारांश भन्न र लेख्न लगाउने बानीको बिकास गर्न सकियो भने बाबुनानीमा अभिव्यक्ती कलाको बिकास हुन्छ भने लेख्न सक्ने बाल बालिकामा लेखन कलाको पनि बिकास हुँदै जान्छ । यदि तपाईको घरमा ईन्टरनेट छ भने ईन्टरनेटको सेवा दिने कम्पनीलाई भनेर अस्लिल वेभसाईटलाई सेटिङबाटै बन्द गराउन पनि सक्दछौं ।

याद राख्नुहोस् बाबुनानीको मोबाईल र ल्यापटपमा हामी अभिभावकले History हेरेर बाल बालिकालाई आन्तरिक परामर्श दिन सकिन्छ । अझ ल्यापटपमा भने Recycle Bin मा गएर बाबुनानीले के के डाउनलोड गरेर मेटेको रहेछन् सम्म पत्ता लगाउन सकिन्छ । यसले बाल बालिकाको स्वभावलाई ख्याल गर्न सकिन्छ र सो अनुसार अभिभावकले उनीहरुलाई गर्न पर्ने व्यबहारमा ध्यान दिन सकिन्छ ।

बिगत लामो समय देखि बिभिन्न गैह्र सरकारी संस्थामा कार्यरत मनिष थापाका अनुसार बिद्यालय बन्द हुँदाको अबस्थामा पनि दुर शिक्षाको अभ्यासमा बाल बालिकालाई अभ्यस्त गराउनु पर्दछ भने यसको लागि अभिभावकले सँगै बसेर बाल बालिकाले कुन वेभसाईट हेरिरहेका छन् र कसरी पढिरहेका छन् भनेर निगरानी र अनुगमन गर्नु पर्दछ ।

११. खेलकुदका कुरा सिकाउने बेला

बालबालिकाहरु स्वभावैले खेल्ने प्रबृत्ति र प्रकृतिका हुन्छन् । उनीहरुलाई खेल्नको लागि समय दिनु नै पर्दछ भने बेला बेलामा खेलकुदका खेलाडीका जीवनी, बिभिन्न खेलका नियमहरु बाल बालिकालाई बताउन सकिन्छ ।

सफल खेलाडीका जीवनी बताउदा बाल बालिकामा उत्साह र उमंग भरिन थाल्दछ र अनुशासनको भावना पनि बिकास हुन थाल्दछ । लेख्ने उमेरका बाल बालिकालाई खेलाडीको जीवनी सुनाए पश्चात लेख्न लगाउने र लेख्न नसक्ने बाल बालबालिकालाई आफूले सुनेको खेलाडीको जीवनी भन्न लगाउन सकिन्छ ।

१२. चाडपर्वको बारेमा बताउने र लेख्न लगाउने

बिद्यालय बिभिन्न समयमा बन्द हुने गरेको पाईन्छ । बिद्यालयका बार्षिक परीक्षा, महामारीको बेला, जाडो या गर्मी मौसममा बिद्यालय लामो या छोटो समय बन्द हुने गरेको पाईन्छ ।

घरमा बस्दा बाल बालिकाको उन्नत समय निरर्थक बनाउने कि सार्थक बनाउने त्यो अभिभावकको कुशलतामा भर पर्दछ । यस्तो बन्द भएको बेला बाह्रै महिनामा कुनै न कुनै चाडवाड परेको हुन्छन् । बाल बालिकालाई ति चाडवाडको बारेमा आफूले जानेको कुरा बताएर लेख्न सक्ने बाल बालिकालाई लेख्न लगाउने र लेख्न नसक्ने बाल बालिकालाई भन्न लगाउन सकिन्छ ।

१३. संस्कार सिकाउनुहोस्

बाल बालिकाहरु स्वभावैले चन्चले र उत्सुकताले भरिएका हुन्छन् तर हामीले उनीहरुको यो बानीलाई चकचके भनेर गलत तरिकाले बुझिदिन्छौं । तर बिद्यालय बन्द हुँदा बाल बालिकामा असल संस्कारको सिकाउने असल र उत्तम समय बनिदिन सक्दछ ।

बाल बालिकालाई सामाजिक मूल्य र मान्यता, छुवाछुत, महिनावारी, बाल बिबाह, कुसंस्कार जस्ता कुरालाई छलफल गराउने र यस्ता संस्कार हटाउनको लागि बालबाकिलाई अभिप्रेरित गर्न सकिन्छ । यसका साथै आदर, सत्कार, सम्मान, माया, प्रेम र सद्भावका बारेमा सिकाउने हो भने बाल बालिकामा अनुशासित हुन सिक्दछन् ।

१४.खेलकुदको बारेमा सिकाउनुहोस्

स्वभावैले बाल बालिकाहरु खेलकुदमा रुची राख्दछन् । तर हामीहरु बलबालिका धेरै खेले भनेर यदी बाबुनानीहरु खेलकुदमा रुची राख्छन् भने उनीहरुलाई मन पर्ने खेलाडीको बारेमा बताउनुहोस् र उनीहरुसँग पनि त्यस्ता खेलाडीको बारेमा भन्न लगाउनुहोस् र लेख्न लगाउनुहोस् । यसले बाबुनानीलाई उत्साह र उमंग भरिने हुन्छ भने फरक खेल प्रतिको धारणा पनि बस्न सक्दछ ।

१५. परिवारमा मनोरन्जनात्मक क्रियाकलाप संचालन

परिवारमा हासो ठट्टाको आवश्यकता पनि पर्दछ । एकोहोरो निर्देशनात्मक कुराले परिवारमा कुराकानीको अभाव हुन्छ र यसले कालान्तरमा गएर मनमा भएका कुरा भन्न नसक्ने बानी व्यहोराको बिकास बाबु नानीमा हुन सक्दछ ।

यस अबस्थालाई चिर्नको लागि परिवारमा एकापसमा अभिभावकले चुट्किला भन्ने, गीत गाउने, नाच्न जान्नेले नाच्ने गरियो भने पनि परिवारमा निकै रमाईलो वातावरण हुन सक्छ ।

यसले बाल बालिकामा आत्मबल बढाउन मद्धत पुर्याउँछ भने बाल बालिकाले खुलस्त रुपमा आफ्नो कुरालाई परिवारका हरेक सदस्यसँग सुनाउन सक्दछन् । यसले पुस्ता पुस्ता बीचको दुरी कम गराउन पनि मद्धत गर्दछ ।

१६. परिवारकै सदस्यको अटोग्राफ बनाउन लगाउने

बाल बालकिलाई थप श्रृजनशील बनाउने हो भने परिवारका हरेक सदस्यको लागि अटोग्राफ बनाउन दिन सकिन्छ । यसले परिवारमा रौनक थपिने गर्दछ । परिवारका हरेक सदस्यको रुची, लक्ष्य, मन पर्ने कुरा, आदर्श व्यक्ति, आदर्श वाणी आदि जस्ता कुराको जानकारी हुने गर्दछ । यसले पनि परिवारमा थप सामन्जस्यता आउने गर्दछ ।

१७. प्राकृतिक प्रकोपको बारेमा सिकाउनुहोस्

बाल बालिकालाई प्रकृतिसँग नजिक हुन दिनु पर्दछ । यसले बाल बालिकामा खोज र अनुसन्धानको बिकास गराउँदछ । यसको लागि बाल बालिकालाई बिभिन्न खोला नाला, नदि, छहरा पहराको बारेमा बताउने र प्राकृतिक प्रकोप जस्तै बाढी, पहिरो, भूक्षय, भुकम्प, कोरोना र अन्य माहामारीको बारेमा सिकाउन सकिन्छ ।

यसले बाल बालिकालाई प्रकृति प्रेम प्रति लालयित गराउँदछ भने भविष्यमा हुने महामारी प्रति सचेत र सजग गराउँदछ र असल स्वास्थ्य ब्यबहारको बानी बसाल्न पनि सिकाउँदछ । महेन्द्र मन्दिर मा.बि. का बिज्ञान शिक्षक सुवास घिमिरेका अनुसार बाल बालिकालाई दैनिक तापक्रम टिपोट गर्न लगाउने र बिभिन्न ग्राफ बनाउन लगाउँदा पनि बाल बालिकामा थप श्रृजनशीलता बढ्ने बताउनुहुन्छ ।

१८. पाठ्यक्रम बाहिरका पुस्तकहरु सँगै पढ्ने बानीको बिकास

बाल साहित्यका अध्यता, बाल कविताका लेखक एवम् समीक्षक रमेश चन्द्र घिमिरेले आफ्नो शिक्षण अनुभव सहित भन्नुहुन्छ “थोरै मात्र बिद्यार्थीले शिक्षकको सहायता बिना पढन् जाँगर राख्ने गर्दछन् । शिक्षकको सहयोगमा जति बाबुनानीले जाँगर लगाउँदछन् त्यति स्व अध्ययनमा जाँगर लगाएको पाईन्न ।

यसका लागि उनका अनुसार बाल बालिकालाई मनोरन्जनात्मक कुरामा सरिक गराएर मात्रै पुस्तक पढ्न अभिप्रेरित पर्दछ र शुरुमा बालकथा, लोककथा, प्रेरणादायी जीवनी पढ्न लगाउनु पर्दछ अनि बल्ल पाठ्य पुस्तक पढ्नलाई हौसला दिनु पर्दछ, यसले गर्दा बाल बालिकालाई मनोरंजन पुग्दछ भने श्रृजनशीलता र अध्ययन शीलता बढ्न जान्छ ।”

त्यस्तै ओरेक नेपालमा कार्यरत बाल अधिकारकर्मी निर्मंला केसीका अनुसार उहाँले बाल बालिकाको स्तर सुहाउँदो किताब बाल बालिकासँगै पढ्ने गर्नु पर्दछ, उनका अनुसार कोरोनाको कारण बिद्यालय बन्द भएपश्चात १२ बर्षे छोरी सँग कथा संग्रह, विश्व प्रसिद्ध कथाहरु, लोककथाहरु, वैज्ञानिक बिश्लेषण भएका किताबहरु सँगैँ पढेको अनुभव सुनाउनुहुन्छ । यसले बाल बालिकामा आत्मबिश्वास बढाउनेमा उनको बिश्वास छ ।

पठन संस्कृतिको बिकास घरमा नै गर्न सकिने आत्मबिश्वासका साथ नेपालमा सबै भन्दा बाल कथा लेख्ने बाल कथा लेखक यसु श्रेष्ठका अनुसार अनलाईनले पनि बाल बालिकालाई दिक्क पारेको अबस्थामा अभिभावक आफै सक्रिय भएर अभिभावकले कथा सुनाउने, आफ्ना जमानाका बानी व्यहोरा र चाल चलनको बारेमा बताउन पनि सकिन्छ ।

लेखक श्रेष्ठका अनुसार बाल बालिकालाई कुनै न कुनै कुरा लेख्न लगाउने र बिभिन्न अनलाईनमा छपाउने व्यबस्थ गर्दा बाल बालिकामा उत्प्रेरणा बढ्न सक्ने हुन्छ । उहाँका अनुसार बाल कथाका किताब स्यानिटाइज गर्दै समुदाय या टोलमा बितरण गर्न सकियो भने पनि बाल बालिकाको पढाईमा मोह जगाउन सकिन्छ ।

१९. दैनिक क्रियाकलापका कार्यहरु गर्न लगाउने

बाल बालिकालाई स्वावलम्वी बनाउन सिक्ने बेला नै यहि समय उपयुक्त रहेको बताउँदै शान्ति मा.बि का शिक्षक राजिव पण्डित भन्नुहुन्छ: यो बेला बालबालिकालाई कपडा पट्याउन सिकाउने, आईरन गर्न लगाउने, साना साना कपडा धुन लगाउने, उनीहरुले सक्ने कार्य गर्न लगाउने गर्नु पर्दछ । यो बेला बाल बालिकालाई कपाल कोर्न सिकाउने, टाँक लगाउन सिकाउने, जुत्तामा तुना बाँध्न सिकाउने, भान्सामा सरसफाई गर्न सिकाउन पनि सकिन्छ ।

युनिसेफ नेपालको अनुसार प्रारम्भिक बाल बिकास तथा सिकाईको लागि बाल बालिकाको शारिरिक बिकास, सामाजिक बिकास, संबेगात्मक बिकास र बौद्धिक बिकासको लागि तालिका नै बनाएर नै बिभिन्न क्रियाकलापहरु गराउन सकिन्छ ।

लामो समयसम्म शिक्षाको क्षेत्रमा समर्पित पूर्व श्रोत व्यक्ति लक्ष्मी पाण्डेका अनुसार बाल बालिकालाई अभिभावकले दैनिक प्रयोग गरिने शब्द र नयाँ शब्द टिप्न लगाउने, अर्थ भन्न लगाउँदा शब्द भण्डार बढ्न सक्ने कुरा औंल्याउँदै र घरमा भएका सामानलाई गन्न लगाउने र थप घट गराउन लगाउँदा गणितिय धारणाको बिकास हुन सक्ने कुरा बताउनुहुन्छ ।

हरेक बिग्रेको घडिले पनि दिनको दुई पटक सही समय देखाउँदछ भने बिद्यालयको बन्द भएको अबस्थालाई अवसरको रुपमा लिनु पर्दछ । बालबालिकाको सुन्दर भविष्यलाई अभिभावकले कलात्मकता भरिदिन सक्दछन् । बालबालिकालाई जीवन र जगत प्रति नजिक बनाउन, सकारात्मक उर्जा भर्न अभिभावकको तत्परताले अतुलनिय भूमिका खेल्ने गर्दछ ।

हामीले बाल बालिकामा गरेको लगानीको प्रतिफल हेर्ने हो भने अभिभावकले चौबिस घण्टाको समयमा केही समय बाल बालिकालाई नै समर्पित गर्ने हो भने बाल बालिकामा आत्मबिश्वास भर्न सकिन्छ । बाल बालिकाहरुमा बैयक्तिक भिन्नताहरु हुन्छन् नै बिद्यालय बन्द हुँदा बाल बालिकाको अन्तर्निहित क्षमतालाई बुझ्न सकिने उत्तम अवसर पनि हो ।

बाल बालिकाका हरेक कुरालाई सुनौ बाल बालिका माथिको लगानी मानव पूँजी माथिको लगानी हो यसले कालान्तरमा सुनौलो प्रतिफल ल्याउँदछ ।

लेखक शिक्षण सिकाई क्रियाकलाप र विभिन्न गैह्रसरकारी संस्थामा शिक्षासँग सम्बन्धित छन् ।

प्रतिक्रिया
सम्बन्धित