शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

इराकसँग नेपालको लज्जास्पद हार, ६–२ ले पराजित 

दैनिक नेपाल २०७८ जेठ १६ गते ७:५४

काठमाडौं, १६ जेठ । इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोलले पराजित भएको छ । इराकको बसरामा शनिबार मध्यरातमा भएको खेलको सातौं मिनेटमा घरेलु टिमले अग्रता लिएको थियो। उसका लागि कप्तान अली अब्दुल जहर खासिनले फ्रिकिकमा उत्कृष्ट गोल गरे ।

एक मिनेट नबित्दै नेपालले बराबरी गोल फर्कायो । आठौं मिनेटमा अन्जन विष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका अब्राहम खलाफले आफ्नै पोस्टमा गोल गरेका थिए ।

३० औं मिनेटमा डेब्यू खेलाडी मनिष डाँगीको गोलमा नेपालले खेलमा अग्रता लियो। सन्तोष तामाङको पासलाई डाँगीले इराकका गोलरक्षक अघि बढेको अवस्थामा गोल गरेका थिए ।

४० मिनेटसम्म २–१ ले अग्रता लिएको नेपालले त्यसपछि पहिलो हाफमा तीन गोल खान पुग्यो । ४० मिनेटमा इराकले बराबरी गोल फर्कायो । कर्नरमा मोहमद अब्दुल्जारा हेडमार्फत बराबरी गोल गरेका थिए ।

अर्को मिनेटमा इराकले तेस्रो गोल गर्‍यो । अयमन हुसेनले तेस्रो गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा इराकले थप दुई गोल गर्‍यो । ६८ मिनेटमा सुमन अर्यालको ब्याक पास मिस हुँदा अली अलसम्मारीले इराकका लागि पाँचौ गोल गरे । ७४ मिनेटमा सज्जदा जसमिले डिबक्सबाट उत्कृष्ट गोल गर्दै इराकको अग्रता ६–२ मा पुर्‍याएका थिए ।

प्रतिक्रिया
सम्बन्धित