शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

नेपाल र इराकबीच आज राति १०ः१५ बजे मैत्रीपूर्ण खेल हुँदै, कठीन परीक्षामा नेपाली टीम

दैनिक नेपाल २०७८ जेठ १५ गते २०:२१

काठमाडौं, १५ जेठ । नेपाल र इराकबीच आज मैत्रीपूर्ण खेल हुँदैछ ।

आज शनिबार राति १०ः१५ बजेदेखि शुरू हुने प्रतिस्पर्धामा नेपाली टीमले कठिन परीक्षाको सामना गर्ने भएको छ । फिफा वरीयतामा नेपालभन्दा इराक १०३ स्थान माथि छ । सन् २००७ को एसिया कप जितेको इराक फिफाको पछिल्लो वरियतामा ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ ।

विद्यमान वरीयताका कारण पनि आजको प्रतिस्पर्धा नेपालका लागि कठिन हुने विश्लेषण गरिएको छ । नेपाल र इराक चौथो पटक खेल्न लागेका हुन् । यसअघिका तीन खेलमा नेपाल पराजित भएको थियो ।

इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली फिफा विश्वकप २०२२ र एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेल खेल्न कुवेत जाने छ । समूह बी मा रहेको नेपालले जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपालले यसअघि ५ खेल खेल्दा एक खेल जित्दै ३ अंक जोडेको छ ।

२० वर्षपछि हुन लागेको आजको खेल इराकको बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा हुने छ ।

प्रतिक्रिया
सम्बन्धित