५ मंसिर २०८३, शनिबार

व्यवसायीहरूलाई सुटुक्क कोरोनाविरुद्धको खोप, सर्वसाधारले घेरेपछि भागाभाग

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १५ जेठ । सर्वसाधारणले अक्सिजन नपाएर मृत्युवरण हुनु परेका बेला प्रदेश १ को सरकारले विराटनगरका उद्योगी व्यवसायीलाई सुटुक्क कोरोनाविरुद्धको दोस्रो डोज खोप दिएको छ ।

विराटनगरस्थित सिटी सिनेमा हलमा शुक्रबार विराटनगरका उद्योगी व्यवसायीलाई प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोरोना विरुद्धको दोस्रो डोज खोप दिने व्यवस्था गरेको हो । सर्वसाधारणहरूले खोप आफूहरूले पनि लगाउनुपर्ने भनेर हँगामा गरेपछि भागाभाग भएको छ ।

प्रदेश १ का विपक्षी दलहरूले प्रदेश सरकारले पहुँचका आधारमा सुकुक्क आसेपासे र ठूला उद्योगी व्यवसायीलाई खोप दिएको आरोप लगाइरहेका बेला शुक्रबार विराटनगरस्थित सिटी सिनेमा हलमा खोप लगाउने गरेको पुष्टि भएको छ ।

सिटी सिनेमा हलमा उद्योगी व्यवसायीको भीड देखेर प्रवेश गरेका स्थानीयले सरकारले सुटुक्क उद्योगी व्यवसायीलाई खोप दिइरहेको देखेपछि होहल्ला गरेका थिए ।

खोप लगाएको हल्ला फैलिएपछि विराटनगरका स्थानीय पनि खोप लगाउन सिनेमा हलको प्राङ्गणमा पुगेका थिए। खोपको माग गर्दै स्थानीय पुगेपछि खोप लगाउन भेला भएका उद्योगी व्यवसायी र स्वास्थ्यकर्मीको भागागभाग भएको थियो ।

स्थानीयले कोभिड खोप लगाउन अवरोध गरेपछि प्रहरीले सुरक्षा दिएर खोप दिन पुगेका स्वास्थकर्मी, खोप बोकेको गाडी र उद्योगी व्यवसायीलाई सुरक्षा दिएर गन्तव्यतर्फ पठाएको थियो ।

उद्योगीलाई सुटुक्क खोप लगाएको स्थानीयले सूचना दिएपछि आफूहरूले खोप लगाउन अवरोध गरेको ताजिम अन्सारीले बताए ।

मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्काले सिनेमा हलभित्र होहल्ला भएपछि मात्रै प्रहरीलाई खोप लगाइएकोबारे जानकारी भएको बताए ।

विपक्षी दल नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले केही दिन पहिले पत्रकार सम्मेलन गरी प्रदेश सरकारले पहुँचका आधारमा कोरोना विरुद्धको खेप लगाएर खोपको दुरुपयोग गरिरहेको बताएका थिए ।