काठमाडौं, ११ जेठ । अमेरिकाले उपलब्ध गराउने कोरोनाविरुद्धको स्वास्थ्य सामग्री आज नेपाल आइपुग्दैछ ।
अमेरिकाबाट भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री बोकेर उडेको कार्गो जहाज आज काठमाडौंमा अवतरण गर्ने छ । अर्को लट स्वास्थ्य सामग्री पनि यसै साता काठमाडौं आइपुग्ने बताइएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच स्वास्थ्य सामग्री सहयोगका विषयमा भएको कुराकानीका आधारमा आज ती स्वास्थ्य सामग्री नेपाल आउन लागेको हो ।
यस्तै हिजो सोमबार मात्रै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अमेरिकी उपविदेशमन्त्रीसँग खोप सहायताबारे टेलिफोन संवाद गरेका थिए । सरकारले अमेरिकासँग स्वास्थ्य सामग्रीका अलवा खोप सहयोगको आग्रह गरिरहेको छ ।
खोप दिने विषयमा पनि अमेरिका सकारात्मक रहेको तथा नेपाल पहिलो प्राथमिकतामा राखिएको जानकारी अमेरिकाले दिएको सोमबार परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय सरकार कोरोना रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारमा तीव्रताका साथ लागिरहेको छ ।
फलस्वरुप संक्रमित र मृतकको संख्या केही हदसम्म स्थिर राख्न सफल हुँदै आएको छ ।
















प्रतिक्रिया