
काठमाडौँ, १० जेठ । वीर अस्पताल (कोभिड–१९ युनिफाइड) अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा प्रा.डा. जागेश्वर गौतम नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयका प्रवक्ता गौतमलाई युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रीस्तरीय निर्णयबाट गौतमलाई सो जिम्मेवारी दिइएको बताइएको छ ।
युनिफाइड अस्पतालले देशभरका कोभिड–१९ डेडिकेटेड अस्पतालको कमाण्ड गर्नेछ ।
त्यस्तै, मन्त्रालयमा सह–प्रवक्ता समिर कुमार अधिकारीले भने हालका लागि प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यसलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाएको हो ।
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालले कोभिड–१९ स्क्रिनिङ क्लिनिक, फिभर क्लिनिक तथा परामर्श सेवा सञ्चालन गर्ने छ । यस्तै संक्रमितको उपचार व्यवस्थापन (अक्सिजन आइसोलेशन, हार्ड डिपेन्डेन्सी युनिट (एचडियु) र सघन उपचार कक्ष (आइसियु) हुने छन् । टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेशन फलोअप, एम्बुलेन्स, आकस्मिक सेवासमेत सञ्चालन हुने छ।
युनिफाइड अस्पतालले शय्या खाली भएका स्वास्थ्य संस्थामा संक्रमितको भर्नाका लागि आवश्यक समन्वय गर्ने छ । यस्तै जुनसुकै स्वास्थ्य संस्थालाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्न आदेश पनि दिन सक्ने अध्यादेशमा उल्लेख छ ।
केन्द्रीय अस्पतालले प्रदेश सरकारसंँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पताललाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालका रुपमा तोक्न सक्ने व्यवस्था गरिएको छ ।












प्रतिक्रिया