१४ कार्तिक २०८३, शनिबार

मौसम अनुकूल भएसँगै आरोही शिखरतर्फ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, ९ जेठ । मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडेका छन् ।

ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा आधार शिविर र शिविर–२ मा रहेका अधिकांश आरोही आज शिखरतर्फ लागेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आज बिहानदेखि सगरमाथा आरोहण जारी छ । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा गत वैशाख २९ गतेयता आरोहण हुन सकेको थिएन ।

सगरमाथा आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत श्रेष्ठका अनुसार आज एकै दिन करीब २०० आरोही चौथो शिविरबाट शिखरतर्फ लागेका छन् । उनका अनुसार अहिले आरोहण भइरहेको भए पनि के कतिले आरोहण गरे भन्ने विवरण प्राप्त भएको छैन ।

शेर्पा आरोही समूहले गत वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको वसन्त यामको आरोहण शुरु भएको थियो । वैशाख २८ र २९ गते करीब १७० आरोही सगरमाथा शिखरमा पुगे पनि त्यसपछि आरोहण रोकिएको थियो ।

अब झण्डै एक हप्ता मात्रै आरोहणका लागि मौसम अनुकूल हुने भएकाले मौसम खुल्नसाथ आरोही शिखरतर्फ लागेका आरोहणमा जानुभएका क्लाइम्बिङ गाइड पेम्बादाबा शेर्पाले बताए । यस वर्ष सगरमाथा आरोहणका लागि ४०८ ले अनुमति लिएका छन् ।

अनुमति लिएकै सङ्ख्याभन्दा केही बढी उनीहरुका सहयोगीसमेत हुने भएकाले यस वर्ष सगरमाथा आरोहणका लागि ८५० भन्दा धेरैको तयारी छ । वसन्त यामको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म एक नेपाली गाइडसहित तीनजनाको मृत्यु भएको छ ।

आरोहण सकेर फर्कने क्रममा स्वीजरल्यान्डका अब्दुल वारिचको साउथ समिटमा मृत्यु भएको थियो भने शिखरतर्फ जाँदै गरेका अमेरिकन नागरिक पुवई लिउको चौथो शिविरमा बिरामी भएर तल झार्ने क्रममा मृत्यु भएको थियो ।

यस्तै क्याम्प १ र २ को खर्पासमा परेर एक नेपाली गाइडको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिए । –रासस