
काठमाडौं, ६ जेठ । विवकेशील साझा पार्टीले आज भइरहेको राष्ट्रियसभा उपनिर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा मतदान नगर्ने भएको छ ।
अहिले चुनावी मैदानमा रहेका कुनै पनि उम्मेदवारबाट पार्टीले अपेक्षा गरेको भूमिका निर्वाह नहुने ठहर गर्दै विवेकशील साझाले निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको हो ।
सो पार्टीका वागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले आज प्रेस विज्ञप्ति जारी गर्दै विवेकशील साझा पार्टीले स्थापनाकालदेखि नै उठाउँदै आएको मतपत्रमा ‘नो भोट’को विकल्प शीघ्र लागू गर्न समेत निर्वाचन आयोग समक्ष आग्रह गरेका छन् ।
आज हुँदै गरेको निर्वाचनमा नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र गरी तीन जना उम्मेदवारहरू मैदानमा छन् । वागमती प्रदेशमा विवकशील साझा पार्टीका तीन जना प्रदेश सभा सदस्य छन् ।
राष्ट्रिय सभामा विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका बौद्धिक व्यक्तित्वहरूको उपस्थिति हुनुपर्ने भन्दै उक्त पार्टीले चुनावी मैदानमा प्रतिस्पर्धारत तीनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा अपेक्षित गरेको भूमिका निर्वाह गर्न नसक्ने दाबी समेत गरेको छ ।















प्रतिक्रिया