प्यूठान, ३ जेठ । प्यूठान जिल्लाको ऐरावती गाउँपालिका– १ बेलबोटमा आइतबार अपरान्ह आगलागी हुँदा ७ वटा घरगोठ जलेर नष्ट भएका छन् ।
आगलागीबाट ६ वटा घर र १ वटा गोठ जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
उनका अनुसार स्थानीय नुमबहादुर घर्ती, पदम बहादुर सारु, रामबहादुर घर्ती, मिलन घर्ती, बलबहादुर घर्ती र हीराबहादुर सारुको घरगोठ जलेर नष्ट भएको छ ।
स्थानीय श्यामबहादुर आलेको खरले छाएको गोठबाट आगो सल्किदा अन्य घर र गोठमा पूर्ण रुपमा क्षति भएको छ ।
आगलागीबाट करीब ६० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको वडा सदस्य जीतबहादुर सारुले जानकारी दिए ।
‘आगोले सबै जलेर खरानी भयो’, उनले भने, ‘शरीरमा एकसरो कपडा बाहेक पीडितको अरु केहि बचेन ।’
आगोले ६ घर परिवारका ३० जनाभन्दा बढी बिचल्लिमा परेको उनको भनाई छ ।
गोठमा केटाकेटीले आगो बाल्दा आगोलागी भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।
अहिले घटनास्थलमा पुगेर प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको डीएसपी मल्लले जानकारी दिए ।
आगलागी पीडितहरूलाई जिल्ला बिपद व्यबस्थापन समितिबाट राहत बितरण गरिने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।
स्थानीयको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो ।












प्रतिक्रिया