शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बढी भाडा असुल्ने २ जना एम्बुलेन्स चालक पक्राउ

दैनिक नेपाल २०७८ जेठ १ गते २२:०१

सांकेतिक तस्वीर

पर्सा, १ जेठ । सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको अभियोगमा २ जना एम्बुलेन्स चालकलाई वीरगंज महानगरपालिका–१५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर ठेगाना भएका ३५ वर्षीय कमरुदिन रायभर र विन्दवासिनी गाउँपालिका–१ ठेगाना भएका २२ वर्षीय वीरबल मुखिया रहेका छन् ।

पर्सा जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्स चालकहरूले कोभिड–१९ संक्रमणको विषम परिस्थितिको फाइदा उठाउने मनसायले संक्रमित व्यक्ति तथा उक्त संक्रमणको कारण मृत्यु भएका व्यक्तिका आफन्तहरूबाट मनोमानी भाडा असुल गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई ना.२ च ३२५६ र ना.३ च ८१९९ नम्बरका २ वटा एम्बुलेन्ससहित पक्राउ गरेको हो ।

उनीहरु उपर कालाबजारी गरेको अभियोगमा अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

साथै पर्सा जिल्लाभित्र कुनै पनि व्यावसाय वा सेवा प्रदायकले सेवाग्राहीहरूलाई कुनै सामान वा सेवा प्रदान गरेबापत तोकिएको दरभन्दा बढी मूल्य लिएमा तत्काल सूचना दिई कालाबजारी नियन्त्रण गर्ने कार्यमा सहयोग गरिदिनहुन समेत सम्बन्धित सबैमा जिल्ला प्रहरी कार्यालय पर्साले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित