शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

खाडी मुलुकमा काम गर्ने नेपालीद्वारा ५६० थान अक्सिजन सिलिण्डर सहयोग

दैनिक नेपाल २०७८ जेठ १ गते १८:००

काठमाडौँ, १ जेठ । खाडी मुलुकमा रोजगारीमा गएका नेपाली मजदुरहरुले ५६० थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन् ।

नेपालमा अक्सिजनको अभावका कारण सयौँको संख्यामा कोरोना संक्रमितहरुले ज्यान गुमाउनु परेपछि यूएई, कतार, ओमन, साउदी अरब, कुवेत, बहराइनमा काम गर्ने नेपाली मजदुरहरुले स्वतस्फूर्त रुपमा रकम उठाएर ५६० थान अक्सिजन नेपाल सरकारलाई पठाएका हुन् ।

खाडी मुलुक अन्तर्गत ओमन अन्तराष्ट्रिय विमानस्थलबाट आज स्थानीय समय अनुसार दिउँसो २ः३० बजे ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा नेपाल एयरलाइन्सको वाइड बडी मार्फत अक्सिजन सिलिन्डर नेपाल पठाएका हुन् ।

राजदूत पराजुलीले नेपाल र नेपालीलाई आपत परेको बेला अक्सिजन सिलिन्डर नेपाल पठाउन पाएकोमा खुशी व्यक्त गरिन् । उनले खाडी मुलुकमा कार्यरत सम्पूर्ण नेपाली कामदारहरुलाई धन्यवाद दिँदै एनआरएनए मध्यपूर्वलाई विशेष आभार प्रकट गरेकी थिइन् ।

एनआरएनएले नेपाल अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियानका अन्तर्गत करिब एक हप्ताको अभियानमा ७५ लाख रुपैयाँ भन्दा बढि रकम संकलन गरेर अक्सिजन सिलिन्डर नेपाल पठाएको गैर आवासीय नेपाल संघ आईसीसीका प्रवक्ता डिबी क्षेत्रीले बताए ।

उक्त परियोजनाको संयोजन एनआरएनए मध्यपूर्वले भएको थियो भने अक्सिजन सिलिन्डर गैर आवासीय नेपाली संघ एनआरएनए एनसीसी ओमनले खरिद गरेको हो ।

एनआरएनए, मध्यपूर्व उपसंयोजक मनोज गोर्खालीका अनुसार ५६० थान अक्सिजन सिलिन्डर आज नेपाल एयरपोर्ट आइपुग्ने र भोलि नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए ।

अक्सिजन सिलिन्डरको ढुवानीको व्यवस्था नेपाल सरकार आफैले गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित