शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

डिप्रेसनका लक्षण, कारण र बच्ने उपाय

दैनिक नेपाल २०७८ वैशाख ३१ गते १९:२४

सांकेतिक तस्वीर

-मधुकर पुन

विज्ञान प्रबिधिको बिकास संगै आधुनिक युगमा मानसिक रोगबाट शिकार भएका व्यक्तिहरु धेरै देखिन्छन् ।

मानसिक रोगहरु मध्ये धेरै व्यक्तिहरु डिप्रेसनको शिकार भएको पाइन्छ । डिप्रेसन जुनसुकै उमेरमा जो कसैमा पनि हुन सक्छ । यसलाई वर्तमान समयमा सामान्य रोगको उपनाम दिइएको छ ।

विश्व स्वास्थ्य संगठन अनुसार हाल विश्वमा लगभग २६४ मिलियन मानिसमा डिप्रेसन रोग छ भन्ने तथ्यांक सार्वजनिक गरेको छ । अर्थात् तथ्यांक अनुसार विश्वमा हरेक ४–५ जनाको बीचमा यो रोग पाइन्छ । डिप्रेसनबाट धेरै जसो विद्यार्थी सिकार भएको पाइन्छ ।

पढाईको चिन्ता, परिवारको चिन्ता, समाजको तनाब तथा आर्थिकको चिन्ता आदि कारकतत्वबाट विद्यार्थीहरु डिप्रेसनको सिकार भएको पाइएको छ । यदी सही रहन सहन तथा सोचाइ राख्न सकिएन भने यो रोगले मानिसलाई बाँच्न दिदैन ।

वर्षेनी लाखौं मानिसहरु डिप्रेसनको कारणले आत्महत्या गरेको तथ्यांक छ । यो रोग सामान्य भनिए पनि यसको परिणाम घातक हुन सक्छ । मानसिक रोग आँफैमा डरलाग्दो रोग हो । यदी समयमा यसको रोकथाम गर्न सकिएन भने डिप्रेसनले मानिसको जीवन नस्ट गर्न सक्छ ।

डिप्रेसनका लक्षणहरु:

१. मनमा खल्लोपन, उदासिपन छाउनु ।

२.कुनै पनि काममा मन नलाग्नु, खुशी नलाग्नु

३. आत्मग्लानी हुनु, आफुलाई दोषी मान्नु

४. शरिरमा शक्ति नभएको महसुस हुनु, अल्छि लाग्नु, थकाई लाग्नु, कमजोर हुनु ।

५. कुनै पनि काममा ध्यान दिन नसक्नु ।

६. भोक नलाग्नु र तौल घट्नु या अत्याधिक भोक लाग्नु र तौल घट्नु ।

७. निद्रा नपर्नु या निद्रा परे पनि गहिरो नपर्नु ।

८. आफुलाई नोक्सान गर्ने बिचार आउनु, जीवनमा केही नभएको महशुस हुनु, आत्महत्याको इच्छामा बृद्धि हुनु इत्यादी

डिप्रेसनको कारण:

यदि ब्यक्तिको मस्तिस्कमा हर्मोनहरु जस्तै सेरोतिनिन, नोरपाइननेफ्रिन र डोपमिनको घटबढको कारणले डिप्रेसन हुन सक्छ । त्यसैगरी जीवनमा कुनै चीजमा असफल हुँदा पनि डिप्रेसन हुन सक्छ ।

साना–साना बेस्वादिलो कुरामा सोचाइ हुँदा पनि डिप्रेसन हुन सक्छ । परिवार, समाज, आर्थिक अवस्था, भौतिक अवस्था आदि तत्वबाट पनि डिप्रेसन सिकार हुन सकिन्छ । आवश्यक भन्दा बढी चिन्ता र तनावबाट पनि डिप्रेसन उत्पन्न हुन सक्छ ।

डिप्रेसनबाट बच्ने उपाय:

१.हरेक दिन १५–२० मिनट योगा गर्ने र योगाको समयमा सकारात्मक कुरा गर्ने।

२. चिन्ता र तनाव कमलिने

३. नियमित रुपमा ब्यायाम गर्ने

४. सन्तुलित भोजन सेवन गर्ने

५. सन्तुलित निद्रा लिने

६. मनोरन्जन र प्रेरणा दिने खालको गीत सुन्ने र भावुक बनाउने गीत नसुन्ने

७. अल्कोहल र धुम्रपानबाट टाढै बस्ने

८. आफुलाई दोष दिन छोड्ने

९. सकारात्मक रहने र सकारात्मक सोच्ने

१०. आफ्नो मिल्ने साथीसँग कुरा शेयर गर्ने ।

११. आफुलाई मन परेको सकारात्मक कार्य गर्ने र आफ्नो मस्तिष्कलाई कुनै सिर्जनात्मक कार्यमा लगाउने

१२. डिप्रेसनमा गएको ब्यक्तिलाई डिप्रेसनबाट बाहिर निकाल्न उसको परिवारको महत्वपूर्ण हात हुन्छ । त्यसकारण अभिभावक तथा अन्य परिवारका सदस्यले रोगीसँग राम्रो व्यबहार गर्ने ।

माथि उल्लेखित उपायहरु आँफैले अपनाएर आफै डिप्रेसनलाई जित्न सकिन्छ । डिप्रेसन आफ्नो खुशीले चाहेर लागेको रोग होइन । त्यसकारण आफुलाई कमजोर सोच्नु हुँदैन ।

आफ्नो मस्तिष्कलाई कमजोर बनाउनु हुँदैन । यो रोग कमजोर दिमाग भएकोलाई पनि लाग्न सक्छ, बलियो दिमाग भएकालाई पनि लाग्न सक्छ ।

धनीलाई पनि लाग्न सक्छ गरिबलाई पनि लाग्न सक्छ । बालकलाई पनि लाग्न सक्छ, बृद्धलाई पनि लाग्न सक्छ । त्यसकारण आफुलाई कमजोर नठानी डिप्रेसनसँग लड्नु होस ।

यदि माथि उल्लेखित बच्ने उपाय असफल भएमा तुरुन्त मनोचिकित्सकलाई जचाउनु पर्छ । अनि मनोचिकित्सकको परामर्श लिने र औषधि प्रयोग गर्नु पर्छ ।

यदि तपाईंलाई डिप्रेसन छ भने नडराउनुहोस् नआत्तिनुहोस् । यसको उपचार सम्भव छ । अहिले मानिसको धारणा के छ भने डिप्रेसनको औषधि प्रयोग गरेमा जिन्दगीभर औषधिको भरमा बाँच्नु पर्छ भन्ने भ्रम फैलिएको छ ।

तर त्यो सत्य होइन । डिप्रेसनको अवस्था हेरेर औषधि प्रयोग गर्न समय तोकिन्छ । ६ महिना, १ वर्ष वा ५ वर्ष । त्यसकारण डिप्रेसन भएको ब्यक्तिले आफु डिप्रेसनमा छु भन्ने थाहा भएपछि तुरुन्त नजिकको चिकित्सकसँग परामर्श लिन जानु पर्छ ।

समाजमा डिप्रेसन तथा अन्य मानसिक रोगको शिकार भएका ब्यक्तिलाई हेर्ने दृष्टिकोण गलत छ । त्यसकारण समाजले पनि मानसिक रोग लागेका व्यक्तिलाई अन्य रोग लागेको जस्तै सुगर, प्रेसर, मधुमेह आदि जस्ता रोगीसरह हेर्न जरुरी छ ।

यदि कुनै मानिसले दुई वर्षदेखि सुगरको औषधि सेवन गरिरहेको छ भने त्यसलाई हेर्ने दृष्टिकोण र ६ महिनादेखि डिप्रेसनको औषधि सेवन गरेको ब्यक्तिलाई हेर्ने दृष्टिकोण फरक हुन्छ ।

डिप्रेसन पनि अन्य रोग सरह नै हो । त्यसकारण डिप्रेसनमा भएको ब्यक्ति आत्तिनु पर्दैन । साथीहरु जीवन सुन्दर छ । अझ कति दुःख भोग्नु छ ।

कति सुख पाउनु छ धेरै अनुभव बटुल्नु छ । जीवन आफैमा मनोरञ्जनात्मक छ । त्यसकारण डिप्रेसनबाट बाहिर निस्कन खोजौं । अवस्य पनि हामी सफल हुनेछौ । जीवन सुगन्धित छ । बाँचौ माया बाँडेर र सधैं हँसिलो रहौँ ।

प्रतिक्रिया
सम्बन्धित