बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

चीनद्वारा उइगुर समुदायमाथि दमन, ६३० मुस्लिम धर्म गुरुहरू बन्दी

दैनिक नेपाल २०७८ वैशाख ३० गते ८:०७

बेइजिङ, ३० वैशाख । चीनले उइगुर समुदायमाथि दमन गर्ने क्रममा कम्तीमा ६ सय ३० जना मुस्लिम धर्मगुरुहरूलाई बन्दी बनाएको पाइएको छ ।

उइगुर मानव अधिकार परियोजनाले संकलन गरेको तथ्याङ्क अनुसार २०१४ पछि शुरु भएको दमनमा चीनले ती अगुवाहरूलाई बन्दी बनाएको हो । १८ जना धर्मगुरुहरूको हिरासतमै ज्यान गएको पाइएको बीबीसीले जनाएको छ ।

पक्राउ पर्नेहरूलाई चरमपन्थी प्रचार गरेको, सामाजिक व्यवस्था भङ्ग गर्न भीड जम्मा गरेको, उक्साउने काम गरेको जस्ता आरोपहरु लागेको छ ।

सन् २०१४ पछि कम्तीमा एक हजार ४६ जना धर्मगुरुहरू पक्राउ परेकामा चर्को दबाबपछि केहीलाई रिहा गरेको छ ।

चीनको पश्चिमी क्षेत्रमा पर्ने शिन्जियाङका उइगर मुस्लिमहरूप्रति अपनाएको नीतिलाई लिएर चीनले विश्वभरिबाट बढ्दो आलोचना खेपिरहेको छ ।

चीनले पछिल्ला केही वर्षभित्र १० लाखभन्दा बढी उइगर मुस्लिमलाई कैद गरेको मानव अधिकारवादी समूहहरूको विश्वास छ ।

चिनियाँ सरकारले उनीहरूलाई पुनः शिक्षा शिविरहरूमा राख्ने गरिएको बताउने गरेको छ । उइगरहरूलाई बलपूर्वक श्रम गर्न लगाइएको र बलपूर्वक महिलाहरूको बन्ध्याकरण गर्ने गरिएको प्रमाण भेटिएको बीबीसीले जनाएको छ ।

उइगर मुस्लिमहरूमाथि दमन गरेर चीनले नरसंहार तथा मानवताविरुद्धको अपराध गरिरहेको संयुक्त राज्य अमेरिकाले आरोप लगाएको छ ।

चीनको उत्तर–पश्चिमी शिन्जियाङ क्षेत्रमा बस्ने उइगरहरूको जनसङ्ख्या झन्डै एक करोड २० लाख छ । चीनमा शिन्जियाङ क्षेत्रलाई औपचारिक रूपमा शिन्जियाङ उइगर स्वायत्त क्षेत्र भनेर चिनिन्छ ।

प्रतिक्रिया
सम्बन्धित