शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

उपप्रधानमन्त्रीबाट पार्टी कार्यालयमा चौलागाईंलाई श्रद्वाञ्जली अर्पण, एमालेले तीन दिन शोक मनाउने

दैनिक नेपाल २०७८ वैशाख २९ गते १७:००

काठमाडौँ, २९ वैशाख । उपप्रधानमन्त्री एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीका केन्द्रीय सदस्य पशुपति चौलागाईंप्रति श्रद्वाञ्जली अर्पण गरेका छन् ।

नेकपा एमालेको थापाथलीस्थित पार्टी कार्यालयमा पुगेर उपप्रधानमन्त्री पोखरेलले आज चौलागाईंप्रति श्रद्वाञ्जली अर्पण गरेका हुन् ।

‘नेकपा एमालेभित्र निष्ठाका साथ आफ्नो सम्पूर्ण जीवन बिताउनुहुने एकजना असल नेता पार्टीले गुमाएको छ । तीन दिन अघिमात्रै स्वास्थ्यका बारेमा मैले उहाँसँग गरेको कुराकानी अहिलेजस्तो लागिरहेको छ, लामो समयदेखि रहँदै आएको कमरेडली सम्बन्धलाई म कहिल्यै बिर्सने छैन् ।’– एमाले महासचिव समेत रहेका उपप्रधानमन्त्री पोखरेलले भने ।

बागमती प्रदेश सभाका सदस्य समेत रहनुभएका चौलागाईंको निधनमा नेकपा एमालेले आजबाट तीन दिनसम्म शोक मनाउने भएको छ । केन्द्रीय कार्यालयमा श्रद्वाञ्जली अर्पण गर्न दिवंगत नेता चौलागाईंको तस्वीर र शोक पुस्तिका राखिएको छ ।

यसैगरी, केन्द्रीय कार्यालयसहित देशभरका कार्यालयमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाइने भएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

२०१६ साल फागुनमा दोलखामा जन्मनुभएका चौलागाईंले २०३८ साल मंसिर ८ गते पार्टी सदस्यता प्राप्त गरेका थिए । पार्टीको तत्कालिन युवा संघको केन्द्रीय अध्यक्ष, नेकपा (एमाले) को दोलखा जिल्ला कमिटी अध्यक्ष, बागमती अञ्चल कमिटी सचिव, इन्चार्ज हुँदै पार्टीको पोलिटव्युरो सदस्य थिए । कोभिड १९ संक्रमणका कारण मंगलबार उहाँको काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया
सम्बन्धित