टीकापुर, २८ वैशाख । कैलालीको टीकापुर अस्पतालमा दुई दिनमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बिरामीको चापअनुसार अक्सिजन उपलब्ध नहुँदा संक्रमितले ज्यान गुमाउनुपरेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
अस्पतालका कोरोना फोकल पर्सन डा। रमेश उपाध्यायले सीमित सिलिन्डरका कारण बिरामीले अक्सिजन नपाउने अवस्था रहेको बताए ।
अस्पतालमा सोमबारसम्म कोरोनाका बिरामीलाई करिब ४५ सिलिन्डर रनिङ अवस्थामा रहेको उनले बताए ।
उनका अनुसार एउटा बिरामीलाई निको हुँदासम्म सरदर ७ सिलिन्डर अक्सिजन आवश्यकता पर्छ । सिलिन्डरको अभावसँगै रिफिल गर्न नेपालगन्ज जानुपर्ने बाध्यताले थप समस्या निम्तिएको हो ।
टीकापुर अस्पतालमा दिनमा १० जनाजति गम्भीर अवस्थाका संक्रमित आउने गरेका छन् । सबैजसो बिरामीलाई अक्सिजनको आवश्यकता परेको छ ।
अस्पतालमा संक्रमितको उपचारका लागि १५ शय्या भए पनि करिब ४५ जना उपचाररत रहेको अस्पताल प्रशासनले जनाएको छ । शय्या नहुँदा बिरामीको बरन्डामै उपचार भइरहेको छ ।











प्रतिक्रिया