शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बुढानिलकण्ठ दरबारमा पुगे ठाकुर–महतो

दैनिक नेपाल २०७८ वैशाख २६ गते १०:२५

काठमाडौं, २६ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी (जसपा)का नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोले भेटवार्ता गरेका छन् ।

सभापति देउवाको बुढानिलण्ठस्थित निवासमा तीन नेताहरूबीच आइतबार भेटवार्ता भएको हो । भेटमा वैशाख २७ गतेको विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी ओलीको तयारी र नयाँ सरकारका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

ठाकुर र महतो प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने पक्षमा अडान राख्दै आएका छन् । उनीहरूको दल जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीको विपक्षमा छन् ।

एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले समूहिक राजीनामा दिएर प्रधानमन्त्री ओलीलाई असहयोग गर्ने तयारी गरेका बेला ठाकुर र महतोले देउवासँग भेट गरेका छन् ।

देउवासँगको भेटमा के–के विषयमा कुराकानी भएको हो औपचारिक रुपमा केही भनिएको छैन । प्रधानमन्त्री ओली चारैतिरबाट दवावमा परिरहेका बेला देउवासँग ठाकुर–महतोबीच भएको भेटवार्ताले नयाँ तरंग ल्याइदिएको छ ।

प्रतिक्रिया
सम्बन्धित