शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भारतको सक्रियतापछि एमाले मिल्ने सम्भावना न्यून, सांसदहरुको राजीनामापत्र तयार

दैनिक नेपाल २०७८ वैशाख २५ गते २३:२७

काठमाडौं, २५ वैशाख । नेपाली राजनीतिमा भारतीय सक्रियता बढेसँगै नेकपा एमालेभित्रको आन्तरिक विवाद करिब–करिब मिल्न नसक्ने अवस्थामा पुगेको छ ।

पार्टीभित्र हुँदै आएका सामान्य भन्दा सामान्य विषयहरुमा भएका मतभेदहरुमा अदृश्य शक्तिहरुले खेल्दै जाँदा अन्ततः एमाले विभाजनको अन्तिम विन्दुमा पुगेको छ । पछिल्लो समय पार्टी विभाजनलाई रोक्न पहिलो र दोस्रो तहका नेताहरुले भरपुर प्रयास गरेका भए पनि उनीहरु अपेक्षित परिणामसम्म पुग्न सकेनन् र आफूले भनेजस्तो नभएपछि एमालेको एउटा समूह आफ्नै पार्टीको सत्ता ढाल्न उद्दत बनेको छ ।

पछिल्लो समय नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग राजनीतिक सहकार्य गरेर आफ्नै पार्टीको केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्मका सरकारहरु खलबल्याउन लागिपरेको झलनाथ–माधव समूह अन्ततः पार्टीबाट हुने कारबाहीको त्रासमा सामुहिक राजीनामाको अवस्थामा पुगेको छ ।

स्रोतका अनुसार माधव नेपाल पक्षका सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजीनामा दिने भएका छन् । स्वदेशी तथा विदेशी शक्तिको छायाँमा परेका कारण आफ्नै पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन समेत नसक्ने अवस्थामा पुगेको उक्त समूह राजीनामाको बाटो रोज्न तयार भएको हो ।

कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीसँग मिलेर राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार पराजित गर्ने, केपी ओली नेतृत्वको संघीय सरकार र प्रदेश सरकारहरु समेत ढाल्ने खेलमा अगाडि बढिसकेका उनीहरु ओलीले लचकता अपनाउँदा पनि पार्टीमा फर्किन सकेनन् ।

पार्टीमा फर्किए पनि ओलीको सरकार ढालेर मात्रै फर्किने अठोटका साथ माधव पक्षका २० जना सांसदले राजीनामाको तयारी गरेको बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि एमालेका माधव पक्षीय सांसदको राजीनामा आए ओली सरकार गिराउन सहयोग गर्ने वचन दिएअनुरुप उनीहरु राजीनामाको तहसम्म पुगेको स्रोतको दाबी छ ।

नेपाली राजनीतिमा भएका र सम्भावित घटनाहरुका पछाडि विदेशी संयन्त्रहरुको महत्वपूर्ण भूमिका रहेको पनि स्रोतले दाबी गरेको छ । अन्यथा कुनै पनि राजनीतिक र सैद्धान्तिक एजेन्डाविनै दलहरु विभाजनसम्म पुग्नु मुलुकका लागि निकै खतरापूर्ण र दुर्भाग्यको विषय हो भन्दै स्रोत भन्छ, ‘केही दिनयता भारतीय खुफिया एजेन्सी नेपाली राजनीतिको केन्द्रमा निकै सक्रिया बनेको छ । त्यसैकारण राजनीतिका सामान्य विषयहरु पनि भद्दा बनाइँदै आएको छ ।’

प्रतिक्रिया
सम्बन्धित