शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

निफमा चलचित्र क्षेत्रमा महिला सहभागिता एवं अवसरबारे बहस

दैनिक नेपाल २०७८ वैशाख २५ गते १९:२७

काठमाडौं, २५ वैशाख । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको तेस्रो दिन आज शनिबार नेपाली चलचित्र उद्याोगमा महिला सहभागिता र अवसरका विषयमा छलफल गरिएको छ ।

जुम अनलाइनमार्फत गरिएको सो कार्यक्रममा चलचित्र जगतका महिला हस्तीहरुसँग गहन छलफल गरिएको नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान एवं निफका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

कार्यक्रममा कलाकार करिश्मा मानन्धरले चलचित्र श्रेत्रमा महिला सहभागिता सन्तोषजनक तर विभेदपूर्ण रहेको बताइन् । समान काम गर्ने पुरुष कलाकारको तुलनामा महिला कलाकारले कम पारिश्रमिक पाउने गरेको उनको भनाइ छ ।

यस्तै हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाले चलचित्रमा महिला सहभागिताका लागि अहिले सुनौलो समय रहेको बताइन् । पहिलाको तुलनामा अहिले धेरै सहज रहेको भन्दै उनले पहिला फिल्म खेल्ने महिलाप्रति घृणा गर्ने गरेको भए पनि अहिले त्यस्तो नभएको बताइन् । पढेलेखेको र जिम्मेवार महिलाहरुको सहभागिता चलचित्र उद्योगमा बढ्दै गएकोप्रति उनले खुशी व्यक्त गरिन् ।

‘चलचित्रमा महिला सहभागिता टिकिराख्न चुनौती छ । तर समय सन्दर्भ प्रबिधिसँग परिचित भएमा अवसर पनि उतिकै छ,’ निरौलाले भनिन् । ‘पितृसत्तात्मक सोचको उपजका कारण चलचित्रसँगै अरु क्षेत्रमा पनि यो समस्या रहेको उनको भनाइ छ ।

सोही कार्यक्रममा छांयाकार, सम्पादक तथा चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणाले नेपाली चलचित्र जगतमा महिला प्राविधिकहरुको सहभागिता न्यून रहेको बताइन् । एक–दूई वटा चलचित्रमा प्राविधिक काम गर्नेहरु पलायन हुँदै गएकोप्रति चिन्ता व्यक्त गरिन् ।

प्रतिक्रिया
सम्बन्धित