६ कार्तिक २०८३, शुक्रबार

संवैधानिक परिषद्को बैठक स्थगित गर्न प्रचण्डको आग्रह

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक स्थगित गर्न सरकारलाई आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेकाले उक्त बैठक स्थगित गर्नुपर्ने प्रचण्डको भनाइ छ । उनले संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसाय बोकेको उक्त बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग अनुरोध समेत गरेका छन् ।

पार्टीका तर्फबाट शनिबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन्, ‘संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको छ । यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दै छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । राजनीतिक स्वार्थहरुका कारण लामो समयदेखि परिषद्को बैठक बस्न सकिरहेको छैन ।

विद्यमान व्यवस्थालाई राजनीतिक स्वार्थ पूर्तिमा प्रयोग गरिएका कारण बैठक बस्न नसकेपछि सरकारले केही दिनअघि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो भने राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेकी थिइन् ।

सोही बमोजिम बैठक आह्वान भएको बताइएको छ । परिषद्मार्फत सिफारिस हुनुपर्ने थुप्रै संवैधानिक आयोगहरु लामो समयदेखि पदाधिकारीविहीन भइरहेका छन् । आगामी बैठकले पदाधिकारीहरु सिफारिस गर्ने सम्भावना छ ।