शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भीमसेनको शिलामा पसिना आयो, यस्तो छ पसिनाको इतिहास

दैनिक नेपाल २०७८ वैशाख २५ गते १३:१६

दोलखा, २५ वैशाख । दोलखास्थित प्रसिद्ध भीमेश्वर मन्दिरको शलिामा पसिना आएको छ ।

आज शनिबार १२ बजेर १५ मिनेटदेखि पसिना आउन शुरु भएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिएका छन् ।

भीमसेनलाई पसिना आएको खबरसँगै अहिले मन्दिर वरपर भक्तजनहरुको ठूलो भीड लागेको छ भने जिल्लास्थित सञ्चारकर्मीहरु पनि मन्दिरस्थलमा पुगेका छन् ।

पसिना आउन थालेसँगै निरन्तर घण्टा तथा नगरा बजाएर पूजाआराधाना गरिँदै छ । बाजागाजासहित स्थानीय मन्दिरमा पुगेका छन् । पसिनाका कारण कुनै अनिष्ट नहोस् भनेर शिलालाई चम्मरले हम्किने गरिन्छ ।

भीमसेनलाई पसिना आएपछि देशमा कुनै न कुनै अनिष्ट हुने विश्वास गरिँदै आएको छ । यद्यपि, भीमसेनको शिलामा पसिना आउनु मुख्यतः परिवर्तनको सूचकको रुपमा पनि लिने गरिएको छ । त्यसर्थ यो घटनालाई नकारात्मक कोणबाट मात्रै नभई सकारात्मक कोणबाट पनि हेर्ने गरिन्छ ।

भीमसेनलाई पसिना आउँदा के हुन्छ ? के हुँदै आएको छ ?

भीमेश्वरको शिलालाई १९९० सालमा पसिना आउँदा महाभूकम्प गएको, १९९७ सालमा पसिना आउँदा राणा सरकारले चार जनालाई फाँसी दिएको, २००७ सालमा पसिना आउँदा राणा शासनको अन्त्य भएको २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको, २०१८ सालमा पसिना आउँदा देशमा ठूलो बाढीपहिरो आएको बताइन्छ ।

त्यसैगरी, २०२८ सालमा पसिना आउँदा राजा महेन्द्रको मृत्यु भएको, २०३५ सालमा पसिना आउँदा जनमतसंग्रह भएको, २०४५ सालमा पसिना आउँदा भूकम्प गएको, २०५७ साल माघ १ र १५ गते पसिना आउँदा २०५८ सालमा दरबार हत्याकाण्ड भएको इतिहास छ ।

त्यस्तै, २०६१ फागुनमा पसिना आउँदा २०६२ सालमा जनआन्दोलन भएको र २०६४ साल जेठ ५ गते पसिना आउँदा राजतन्त्र अन्त्य भई लोकतन्त्र स्थापना भएको घटनालाई पनि यसै सन्दर्भसँग जोडेर हेर्ने गरिएको छ ।

त्यसैगरी, भीमसेनको शिलामा २०७० साल मंसिर ३० र फागुन १३ गते पनि पसिना आएको थियो । त्यस्तै पछिल्लो पटक २०७४ असोज १० गते आएको पसिनापछि स्थानीय तहसहित संघीय नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएको विश्वास समेत गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित