मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

नेपालमा प्रयोग गरिएको चिनियाँ खोपलाई डब्ल्यूएचओको अनुमति

दैनिक नेपाल २०७८ वैशाख २५ गते १०:४०

काठमाडौं, २५ वैशाख । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको कोभिड खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

डब्ल्यूएचओले स्वीकृति दिएको यो पहिलो युरोपबाहिर बनेको कोभिड खोप हो । चिनियाँ सरकारले आठ लाख मात्रा सहयोग उपलब्ध गराएको सिनोफार्मको भेरो सेल खोप नेपालमा पनि ल्याइएको तथा प्रयोग भइरहेको छ । नेपाल र चीनसहित यो खोप अन्य देशमा अहिलेसम्म लाखौँ व्यक्तिहरूलाई दिइसकिएको छ ।

यसअघि डब्ल्यूएचओले फाइजर, आस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडेर्नाले बनाएको खोपलाई अनुमति दिइसकेको छ । अफ्रिका, दक्षिण अमेरिका र एशियाका विभिन्न देशका स्वास्थ्य निकायहरूले यो खोपलाई स्वीकृति दिइसकेका छन् ।

चिनियाँ कम्पनीले थोरै मात्र तथ्याङ्क सार्वजनिक गरेको कारण यो खोपको प्रभावकारिताका विषयमा प्रश्नहरू उठेका भए पनि शुक्रबार डब्ल्यूएचओले सो खोपको सुरक्षा, प्रभावकारिता र गुणवत्तालाई पुष्टि गरेको हो ।

डब्ल्यूएचओले नयाँ खोपले आफ्ना स्वास्थ्यकर्मी र जनसङ्ख्यालाई जोखिमबाट बचाउने प्रयास गरिरहेका देशहरूका लागि कोभिड खोपसम्मको पहुँच बढाउने बताएको छ । त्यो खोप १८ वर्षभन्दा माथिका व्यक्तिहरूलाई दुई मात्रा दिन सिफारिस गरिएको छ ।

डब्ल्यूएचओले अर्को चिनियाँ खोप सिनोभ्याक र रुसको स्पुत्निक भीको बारेमा पनि अध्ययन गरिरहेको छ र ती खोपका विषयमा चाँडै नै निर्णय आउने बताइएको छ ।

बीबीसीले प्रकाशित गरेको समाचार अनुसार डब्ल्यूएचओले अनुमति दिएपछि राष्ट्रिय स्वास्थ्य निकायहरूले यो खोपलाई स्वीकृति दिन सहज हुन्छ । यसको अर्थ यो खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत विश्वभर वितरण पनि हुन सक्छ । कोभ्याक्स धनी र गरिब राष्ट्रहरूको खोपमा पहुँच न्यायिक होस् भन्ने उद्देश्यले स्थापना गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित