
काठमाडौं, २४ वैशाख । नेपालमा कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिरहेका बेला संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल प्रहरी सक्रियताका साथ लागि परेको छ ।
प्रहरीले सरकारद्वारा जारी भएका स्वास्थ्य मापदण्ड पालना गराउँदै घोषित निषेधाज्ञालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विशेष कार्यक्रम नै बनाएर अगाडि बढिरहेको छ । आम मानिसमा जनचेतना सोत फैलाउने उद्देश्य बोकेको सोही कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा प्रहरीले ४३८ जनालाई जरीवाना, ७ हजार ८०५ जनालाई होल्ड गरी छाडिएको र ३ हजार १०३ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।
कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चाचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ हजार ४५७ जनालाई निःशुल्क मास्क पनि वितरण गरेको छ ।
अभियानको क्रममा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ४३८ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरीवाना गरेको बताएको छ ।
साथै प्रहरीले विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ८०५ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडेको बताएको छ । सो क्रममा १ हजार १३० वटा गाडी र १ हजार ९७३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया