बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

रुसी राष्ट्रपति पुटिन भन्छन्– स्पुतनिक खोप ‘कलाश्निकोभ राइफल जत्तिकै विश्वसनीय’

दैनिक नेपाल २०७८ वैशाख २४ गते १३:२०

मस्को (रुस), २४ वैशाख । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा निर्माण गरिएको कोभिड–१९ विरुद्धको खोपलाई एक प्रसिद्ध हतियार ‘कलाश्निकोभ राइफल जत्तिकै भरपर्दो’ भएको भनेर प्रशंसा गरेका छन् ।

उपप्रधानमन्त्री तात्याना गोलिकोभाका साथ गरिएको एक भिडिओ कन्फरेन्समा बिहीबार उनले त्यस्तो टिप्पणी गरेका हुन् । देशका स्वास्थ्य अधिकारीहरूले बिहीबार रुसमा निर्मित स्पुतनिक लाइट पनि भनिने स्पुतनिक भी नामक कोभिड–१९ विरुद्धको खोपको एक मात्रा मात्रै लगाए पुग्ने संस्करण दर्ता गरेका बेला त्यस्तो टिप्पणी आएको हो ।

राष्ट्रपति पुटिनले कोभिड–१९ विरुद्धको त्यो खोपलाई सोभियत सङ्घकालीन हतियारसँग तुलना गरेका छन् जुन हाल पनि व्यापक प्रयोगमा रहेको छ । त्यस्तो तुलनात्मक टिप्पणी उक्त खोपको प्रभावकारिताबारे यो वर्षको आरम्भमा एक अष्ट्रियाली चिकित्सकले सबैभन्दा पहिला गरेका थिए जुन अभिव्यक्तिलाई राष्ट्रपति पुटिनले दोहोर्‍याएका हुन् ।

स्पुतनिक भी खोप अक्सफर्ड/आस्ट्राजेनेका र जानसेन/जनसन एण्ड जनसन ले तयार पारेका खोपले जसरी नै काम गर्दछ । त्यसमा कोल्ड–टाइप भनिने निष्क्रिय तुल्याइएको भाइरसको प्रयोग हुन्छ जुन भाइरसले कोरोनाभाइरसको सूक्ष्म अंश मानिसको शरीरमा प्रवेश गराउने वाहकको रूपका काम गर्छ ।

उक्त खोपको दुई मात्रा लगाउनुपर्ने प्रकारले हाल संसारका एक दर्जनजति देशमा आपत्‌कालीन प्रयोगका लागि अनुमित पाइसकेको छ । स्पुतनिक लाइट भनिएको खोपको एक मात्रा मात्रै लगाए पुग्ने प्रकारको प्रयोगलाई रुसमा बिहीवार औपचारिक अनुमित दिइएको थियो ।

एउटा प्रेस विज्ञप्तिमा उक्त खोपका निर्माताले भनेका छन्, ‘स्पुतनिक लाइट खोपको देशमा गरिएको परीक्षणका क्रममा ७९.४% प्रभावकारिता देखिएको छ ।’ बीबीसीबाट

प्रतिक्रिया
सम्बन्धित