नयाँदिल्ली, २४ वैशाख । भारतको मुम्बईमा पाइलटले बिहीबार राति उड्दा–उड्दै पांग्रा खसेको एउटा जहाजलाई सफल अवतरण गराएका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिरामी बोकेको एयर एम्बुलेन्स नागपुरबाट हैदरावाद जाँदै थियो । जहाजमा दुई जना क्रु मेम्बर, एक जना बिरामी, एक जना बिरामीका आफन्त र एक जना डाक्टर थिए ।
जेट सर्भ एभिएसनले चलाएको सी–९० भिटी–जेआइएल जहाजको टेकअफ हुनासाथ एउटा पांग्रा निस्किएको थियो । त्यसपछि पाइलटले आकस्मिक अवतरणका लागि जहाज मुम्बईतिर मोडेका थिए ।
मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा आकस्मिक अवतरणको तयारी गरिएको थियो । अवतरणका क्रममा जहाजमा आगो नलागोस् भनेर धावनमार्गमा फोम बिछ्याइको थियो । पाइलटले ल्यान्डिङ गियर नखोलीकनै बेली ल्यान्डिङ गराएका थिए ।
राति ९ बजेर ९ मिनेटमा जहाजको विमानस्थलमा सफल अवतरण गरिएको थियो । जहाजमा रहेका सबैजना सुरक्षित छन् । बिरामीलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ ।
भारतका केन्द्रीय नागरिक उड्डयन मन्त्री हरदीपसिंह पुरीले उक्त जहाजलाई सफलतापूर्वक अवतरण गराउने क्याप्टेन केशरी सिंहको प्रशंसा गरेका छन् ।















प्रतिक्रिया