शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

निफको चौथो संस्करण शुरु, अनुराग कश्यपले सुनाए यस्तो अनुभव

दैनिक नेपाल २०७८ वैशाख २३ गते २३:०१

काठमाडौं, २३ वैशाख । ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आजदेखि शुरू भएको छ ।

नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मी माझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने निफको उद्देश्य रहेको निफ कार्यक्रम अनलाइन माध्यम जुममार्फत आज उद्घाटन गरिएको हो ।

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान तथा यस निफका अध्यक्ष केपी पाठकको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले फिल्म महोत्सवले विभिन्नि देशबीच आत्मीय सम्बन्ध राख्न सहयोग पुग्ने विश्वास व्यत्तः गरेका छन् ।

अबको फिल्म बजारलाई राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रियकरण गर्न निफ जस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ । अब स्टोरी बैंकमार्फत नेपाली चलचित्रलाई विश्वसामु लौजान आवश्यक गृहकार्य समेत भइरहेको दाहालले बताए ।

कोरोना महामारीको बीचमा यो चलचित्र महोत्सवको विभिन्न प्यानलहरुमा गहन छलफल गरी नेपाली चलचित्र , बजार र समाज बारे ठोस निचोड एवं निष्कर्ष निकाल्न आग्रह उनले गरेका छन् ।

कार्यक्रमका विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले निफजस्ता अन्तर्राष्ट्रिय चलचित्र महत्सवहरुले चलचित्रको माध्यमबाट नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वसामु प्रचार गर्ने र देशभित्र पनि धेरै रोजगारीको श्रृजना गरेको हुँदा यो श्रेत्रलाई सरकारी योजनाभित्र पार्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैबीच बरिष्ट चलचित्रकर्मी नीर शाहले बिगतदेखि सञ्चालित निफको कार्यक्रमलाई नजिकैबाट निहाल्दै छोटो समयमा प्रशंशायोग्य गतिबिधिहरु सञ्चालन गर्दै आएको र यसको निरन्तरताका लागि सरकार र सरोकारवालाहरुले विशेष सहयोग गर्ने पर्ने बताए ।

सिनेमालाई अत्यन्तै नजिकबाट समाजसँग जोड्न निफको महत्वपूर्ण भूमिका रहेको बताउँदै संगीत, साहित्य र सिनेमाको अध्यन महत्वपूर्ण रहेकाले यो समाजको ऐनाको रुपमा स्थापित भएको शाहको भनाइ छ ।

कार्यक्रममा अर्का अतिथि अन्तर्राष्ट्रिय फिल्म सोसाइटी फेडरेशनका अध्यक्ष पोर्चुगलका ज्वाओ पाउलो मसेदोले निफको अघिल्लो कार्यक्रममा आफू जुरी रहेको हुँदा नेपाली चलचित्रहरु आफूले नजिकैबाट बुझेको बताए ।

नेपाली चलचित्रका सफल निर्देशक तथा निफको फिचर फिल्म प्रतिस्पर्धाको प्रमुख निर्णायक रहेका तुलसी घिमिरेले निफको कार्यक्रमहरु फलदायी र समयसान्दर्भिक रहेको बताए । समग्र चलचित्र श्रेत्रको विकाश र विस्तारका लागि यसको भूमिका अतुलनीय रहेको उनको भनाइ छ ।

साथै वृत्तचित्र र लघु चलचित्र प्रतिस्पर्धाकी प्रमुख निर्णायक भारतकी फजीया फतीमा, चलचित्र विकाश वोर्डका सदस्य सचिव महेन्द्र शाखी, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलालगायत वक्ताहरुले निफको भूमिकाको प्रशंसा गर्दैनिरन्तरताका लागि आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यत्तः गरेका थिए ।

भर्चुअल संस्करणमा भारतीय चलचित्र क्षेत्रका लेखक, निर्माता, अभिनेता र सम्पादक अनुराग कश्यपले आफ्नो अनुभव सुनाएका छन् । आफू पटक–पटक नेपाल आएको र नेपालका हिम श्रृंखलाहरुबाट प्रभावित भई सुटिङको योजना समेत रहेको बताए ।

नेपालका मनोरम दृश्य, नेपालीकथा विश्व बजारले समेत उत्साहाका साथ हेरिरहेको सुनाउँदै आफू लण्डनमा रहेको बेला डीभीडीबाट नेपाली चलचित्र हेर्ने गरेको र पछिल्लो समय ‘कालोपोथी’ र ‘सेतो सूर्य’ हेरेको प्रसङ्ग उल्लेख गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित