बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

कोरोना अस्थायी अस्पताल बनाउन नुवाकोट कांग्रेसले दियो पार्टी कार्यालय

दैनिक नेपाल २०७८ वैशाख २१ गते १०:४८

नुवाकोट, २१ वैशाख । नेपाली कांग्रेस नुवाकोटले कोरोना महामारीमा सरकारलाई सहयोग गर्न आफ्नो पार्टी कार्यालय अस्पतालका रुपमा प्रयोग गर्न अनुरोध गरेको छ ।

नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीले कोरोनाका बिरामीहरू बढ्न थालेपछि उपचारमा सहयोग होस् भनेर पार्टी कार्यालय अस्पतालका रुपमा प्रयोग गर्न चाहेमा सरकारलाई दिने बताए ।

‘नुवाकोट जिल्लामा कोभिड–१९ का संक्रमितहरूको संख्या बढ्दै जाँदा अस्पतालका बेडहरू क्रमशः भरिदै गएका छन्’, सभापति केसीले भने, ‘पछिल्लो समय कोरोनाका संक्रमितहरूका लागि बेड अभाव हुन थालेको गुनासोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘स्वास्थ्य जस्तो जनताको मौलिक अधिकार पनि तीन तहका सरकारले व्यवस्थापन गर्न नसक्नु योभन्दा लाचारिपन अरु केही हुन सक्दैन’, सभापति केसीले भनेका छन् ।

‘कोरोनाका संक्रमितहरूलाई व्यवस्थापन गर्न विदुरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा करीव १२० शय्याको कोभिड–१९ अस्थायी अस्पताल बनाउन मिल्ने भवनमा अस्पताल सञ्चालन गर्न जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोट हार्दिक अनुरोध गर्दछ’, केसीले भने ।

‘नुवाकोटका हरेक नागरिकको जीवन रक्षाको लागि नेपाली कांग्रेस नुवाकोट हिजो पनि थियो, आज पनि छ र भोलि पनि हरबखत, हरपल सधैं जनताको साथमा रहने प्रतिवद्वता गर्दछौं’, सभापति केसीले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित