शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड वार्ड सञ्चालन

दैनिक नेपाल २०७८ वैशाख २१ गते १०:३८

चितवन, २१ वैशाख । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ ।

क्यान्सरको उपचार गर्न आउने बिरामी र काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण देखिएमा राख्न मिल्ने गरी वार्ड सञ्चालनमा ल्याइएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार हाललाई १५ शय्या तयार गरिएको छ । सोही ठाउँमा विस्तार गरेर २० शय्यासम्म पुर्याउन सकिने छ ।

देशैभरिबाट क्यान्सरका बिरामी आउने र उनीहरुमा कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिम रहने हुँदा वार्ड तयार गरिएको उनले बताए । अस्पताल आउने बिरामी र कुरुवालाई अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने व्यवस्था अस्पततालले गरेको छ ।

अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोले कामको सिलसिलामा चिकित्सक कर्मचारीलाई सङ्क्रमण भए पनि सोही वार्डमा राखेर उपचार गर्ने व्यवस्थाा गरिएको बताए ।

हाल अस्पतालमा कार्यरत १४ चिकित्सक कर्मचारीलाई सङ्क्रमण देखिएको छ । उनीहरु अधिकांश होमआइसोलेशनमा रहेका छन् । यससँगै जिल्लाको सरकारी भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा सङ्क्रमितको उपचार हुँदै आएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित