३ कार्तिक २०८३, मंगलबार

निफमा बलिउड निर्देशक अनुराग कश्यपले मास्टरक्लास दिने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । आउँदो २३ गतेदेखि शुरू हुने ‘विश्वका कथाहरुको उत्सव’ नारा दिइएको नेपाल अन्तर्राष्ट्रि फिल्म फेस्टिभल (निफ)मा बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले मास्टरक्लास दिने भएका छन् ।

निफका अध्यक्ष केपी पाठकले दिएको जानकारी अनुसार भारतीय चलचित्र उद्योगमा चलचित्र लेखक, निर्माता, अभिनेता र सम्पादकको छवी बनाएका कश्यपले कार्यक्रम उद्घाटनको दिन करिब १ घण्टा चलचित्रको बारेमा मन्तव्यका साथै आफ्ना अनुभव बाँड्ने छन् ।

अनुराग कश्यप बलिउडका ‘अटर’ निर्देशक मानिन्छन् । लेखकको रुपमा बलिउड करिअर शुरू गरेका उनले ‘सत्या’, ‘शूल’, ‘युवा’ जस्ता चलचित्रको पटकथा तथा संवाद लेखेका थिए । उनको डेब्यू निर्देशन रहेको ‘पाँच’ले हलको मुख देख्न नपाए पनि सन् २०१२ मा रिलिज भएको ‘ग्याङ्स अफ वासेपुर’का दुई सिरिजबाट उनले अभूतपूर्व चर्चा पाएका थिए ।

यसपछि उनले ‘मनमर्जियाँ’, ‘चोक्ड’, ‘मुक्काबाज’ जस्ता फिल्मको निर्देशन गरेका थिए । निर्माणमा पनि उत्तिकै सक्रिय उनले नेटफ्लिक्समा रिलिज भएका ‘सेक्रेड गेम्स’, ‘लस्ट स्टोरिज’ आदि फिल्म तथा सिरिजको निर्माण गरेका थिए ।

भौतिक रुपमा नै आयोजना गर्ने गरी तयारी शुरू गरेको निफ फेस्टिभलले केही दिन अघिसम्म हाइब्रिड मोडलमा सञ्चालन गर्ने बताइएको थियो । तर, फेस्टिभलको दिन नजिकँदै जाँदा कोभिड–१९ को दोस्रो लहर तीव्र रुपमा वृद्धि भएसँगै फेस्टिभल अनलाइन मोडलमा गर्न लागिएको हो ।

फिल्मको प्रदर्शन तथा अन्तरक्रियाहरू नेट टीभीसँगै फेस्टिभलको पेजमार्फत प्रत्यक्ष प्रशारण (लाइभ) गरिने पाठकले जानकारी दिएका छन् । अन्य संस्था तथा व्यक्तिहरुले पनि स्वेच्छिक रुपमा प्रशारण गर्न चाहे कार्यक्रमको लिंक उपलब्ध गराइने उनको भनाइ छ ।

फेस्टिभल २७ गतेसम्म चल्ने छ ।