बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

अब ई–सेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने

दैनिक नेपाल २०७८ वैशाख २० गते २१:१७

काठमाडौं, २० वैशाख । भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले ई–सेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् ।

यो सँगै आफूले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी अझ ढङ्गले ई–सेवा खातामा रकम लोड गर्न सकिने छ । अब ई–सेवा एकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाइल बैंकिङमार्फत अझ सहज ढङ्गले ई–सेवामा रकम लोड गर्न सक्ने छन् । आफ्ना प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उद्देश्यले एकाउन्ट लिंक गर्न सकिने सुविधा ल्याएको ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए ।

‘ई–सेवा जहिले पनि आफ्ना प्रयोगकर्तालाई नवीनतम सेवा दिनका लागि अग्रसर छ । नयाँ सेवाका साथै प्रयोगकर्तालाई रकम लोड गर्नका लागि अझ सहज होस् भन्ने कुरालाई ध्यानमा राख्दै यो सेवाको सुरूवात गरेका हौं,’ सापकोटाले भने । एकाउन्ट लिंक सेवा प्रयोग गर्नका लागि ई–सेवा प्रयोगकर्ताको ई–सेवा एकाउन्ट प्रमाणित भएको हुनुपर्ने पनि उनले बताएका छन् ।

साथै यो सेवा लिनका लागि ई–सेवा प्रयोगकर्तासँग एकाउन्ट लिंक गर्ने बैंकको मोबाइल बैंकिङ लिएको हुनुपर्ने छ भने ई–सेवामा भएको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर पनि एउटै हुनुपर्ने छ । यदि ई–सेवामा रहेको नम्बर र बैंकमा रहेको मोबाईल नम्बर एउटै नभएको अवस्थामा बैंकमा भएको मोबाइल नम्बरलाई ई–सेवा एकाउन्टमा सेकेण्डरी आइडीका रूपमा राख्न सकिने छ ।

बैंक खातामा ई–सेवा लिंक गर्नका लागि सर्वप्रथम ई–सेवाको होमपेजमा भएको लोड मनि भन्ने अप्सनमा जानुपर्ने छ । यहाँ लिंक एकाउन्टमा क्लिक गरी आफ्नो खाता भएको बैंक छानी आफ्नो बैंक खाता नम्बर राख्नुपर्ने छ र प्रोसेसमा क्लिक गर्नुपर्ने छ । त्यसपछि मोबाइल बैंकिङ पोर्टल खुल्ने छ । यहाँ आफ्नो मोबाइल नम्बर र पासवर्ड राखी क्लिक गर्नुपर्ने छ । त्यसपछि मोबाइलमा प्राप्त भएको ओटिपी पासवर्ड राखी पे मा क्लिक गरेमा बैंक खाता ई–सेवामा लिंक हुने छ ।

बैंक खाता लिंक गरेपछि ई–सेवा खातामा रकम लोड गर्नका लागि इसेवा खाता लगइन गरी लोड मनि अप्सनमा गइ आफूले लिंक गरेको बैंक एकाउन्टमा क्लिक गर्नुपर्ने छ । त्यसपछि ई–सेवामा राख्ने रकम र अन्य विवरण भरी सहजै रकम लोड गर्न सकिने छ ।

हाल २० वटा बैंक तथा वित्तीय संस्थाका बैंक खातामा ई–सेवा एकाउन्ट लिंक गर्न सकिने छ । निकट भविष्यमै अन्य सदस्य बैंकका खातामा समेत लिंक गर्न सकिने छ ।

ई–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनाका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल तथा कलेजलगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । ई–सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट ई–सेवामा सहजै रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित