६ कार्तिक २०८३, शुक्रबार

भारतमा कोरोना संक्रमणबाट थप १० जना नेपालीको मृत्यु, संक्रमितको संख्या २० हजार भन्दा बढी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । कोरोना भाइरसको संक्रमणबाट यो साता भारतमा थप १० जनासहित विदेशमा रहेका ११ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले दिएको जानकारी अनुसार हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ जना पुगेको छ ।

यो साता साउदीमा पनि संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । स्वास्थ्य समितिले शनिबार साँझसम्म तयार पारेको तथ्यांक अनुसार भारतसहित विश्वभर २१ वटा मुलुकमा रहेका ३८२ जना नेपालीको कोभिड–१९ का कारण मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार भारतमा रहेका २० हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये १७ हजार भन्दा बढी कोरोनामुक्त भएका छन् ।

अहिलेसम्म विश्वका ५४ वटा मुलुकमा ८६ हजार ६७९ जना नेपालीमा कोरोना संक्रमण भएको छ भने तीमध्ये ८२ हजार १९७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका नेपालीमा कोरोना भाइरसको थप संक्रमण देखिएको छ ।

यसैबीच नेपालमा हालसम्म ३ लाख ३६ हजार ३० जना संक्रमित पुगेकोमा ८४.५ प्रतिशत अर्थात २ लाख ८३ ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण आइतबार साँझसम्म ३ हजार ३२५ जनाको निधन भएको छ ।