
रामेछाप, २० वैशाख । रामेछापको उमाकुण्डस्थित एक घरमा आगलागी हुँदा ७८ वर्षीय धनबहादुरदम्पतीको मृत्यु भएको छ भने उनका छोरा, बुहारी र नातिनीको सकुशल उद्धार गरिएको छ ।
जिल्लाको उमाकुण्ड गाउँपालिका–२ बाम्ती लहरेटोलका ७८ वर्षीय धनबहादुर कार्कीको घरमा आइतबार बिहान आगलागी भएको थियो । सो आगलागीमा परी धनबहादुर र उनकी श्रीमती ६८ वर्षीय सिता कार्कीको जलेर मृत्यु भएको हो ।
आगलागीबाट धनबहादुरका छोरा ३५ वर्षीय मनोहर कार्की, बुहारी ३२ वर्षीया कल्पना कार्की र नातिनी ३ वर्षीया स्मारिका कार्कीको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापअन्तर्गत प्रहरी चौकी बाम्तीबाट खटिएको प्रहरीको टोली र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिनाका साथै उनीहरुको उद्धार गरेको हो । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले बताएको छ ।















प्रतिक्रिया