५ मंसिर २०८३, शनिबार

लुम्बिनी काण्डविरुद्ध विपक्षी मोर्चा कानूनी र राजनीतिक लडाइँमा जाने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २० वैशाख । विपक्षी दलहरूले लुम्बिनी प्रदेशमा अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराएको भन्दै कानूनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् ।

सोमबार संयुक्त पत्रकार सम्मेलन गरेर शंकर पोखरेलविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने चेतावनी दिएका हुन् ।

माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले मुख्यमन्त्रीमा पोखरलको नियुक्ति असंवैधानिक, अलोकतान्त्रिक र तानाशाहीको पराकाष्ठा भएको बताएका छन् ।

अल्पमतको मुख्यमन्त्रीलाई स्वीकार नगर्ने बताउँदै केन्द्रको निर्देशनानुसार थप राजनीतिक कदम चाल्ने उनीहरूले बताएका छन् ।

४२ सांसदको हस्ताक्षरसहित सरकारमा दावी पेश गर्दागर्दै ३७ जना सांसदको मात्रै समर्थन भएका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुले लोकतन्त्रको हत्या र उपहास भएको विपक्षी गठन्धनले बताएको छ ।

कांग्रेस संसदीय दलका नेता वीरेन्द् कनौडियाले पोखरेल नेतृत्वको सरकारलाई धेरै दिन टिक्न नदिने चेतावनीसमेत दिए ।

‘संसदबाट कति दिन भाग्नुहुन्छ ? नीति, कार्यक्रम र बजेट ल्याउनु छैन र हामी पराजित गर्छौं’, उनले भनेका छन् । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर ग्राण्ड डिजाइन र षडयन्त्रअनुसार संसद छल्ने नाटक गरेको कनौडियाले बताएका छन् ।

मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख रबिन्द्र धानुकले बल प्रयोग र महिला हिंसा गरेकाले उनलाई निलम्वन गर्न उनले माग गरेका छन् ।

डीआईजी धानुक आफैं प्रत्यक्ष संलग्न भएर महिलालाई हातपात र दुर्व्यवहार गरेकाले निलम्बन गर्नुपर्ने विपक्षीको माग छ । धानुकविरुद्ध कानूनी उपचार पनि खोज्ने नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले बताइन् ।