९ कार्तिक २०८३, सोमबार

काभ्रेमा कांग्रेसद्वारा २० हजार क्रियाशील सदस्यता वितरण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १० वैशाख । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ।

यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर क्रियाशील सदस्य बनाएको जनाइएको छ।

पार्टीको आसन्न १४औँ महाधिवेशनलक्षित क्रियाशील सदस्यताको समयावधि पटकपटक थपिएपछि सदस्यता अभियानमार्फत सदस्यता दोब्बर पुर्‍याइएको काभ्रे कांग्रेसले जनाएको हो।

जिल्लामा नवीकरण र नयाँ सदस्यता गरी सङ्ख्या २० हजार पुर्‍याउने लक्ष्यसहित सदस्यता अभियान सञ्चालन गरिएको जिल्ला कार्यसमिति सचिव दिनेश लामाले बताए।

‘अहिले काभ्रे कांग्रेसमा २० हजार क्रियाशील सदस्य भइसक्नुभएको छ, तोकिएको समयसीमाभित्र केन्द्रीय कार्यालयमा पठाउनेछौँ’, उनले भने।

लामाले १३औँ महाधिवेशनका बेला जिल्लामा भएका १० हजार क्रियाशील सदस्यमध्ये ९५ प्रतिशतले नवीकरण गरेको जानकारी दिए।

उनकाअनुसार नयाँ क्रियाशील सदस्यता थप भइरहेको छ। कोरोना सङ्क्रमणका कारण रोकिएको सदस्यता अभियान काभ्रेमा गत वर्ष पुसदेखि पुनः शुरु गरिएको थियो।

हालसम्म नवीकरण भएका सात हजार ७०० सदस्य र पाँच हजार ४०० नयाँ सदस्यको ‘कम्प्युटर इन्ट्री’ भइसकेको जिल्ला कार्यालय सचिव विनोद तिमल्सिनाले बताए।

केन्द्रीय तथा जिल्ला नेताको उपस्थितिमा भेलामार्फत समेत स्थानीयस्तरमा नवीकरण तथा नयाँ सदस्यताको अभियान सञ्चालन गरिएको थियो।

नवीकरण र नयाँ सदस्यता गरी २० हजारभन्दा बढी भइसकेको उल्लेख गर्दै तिमल्सिनाले कम्प्युटर इन्ट्रीको काम भइरहेको बताए।

केन्द्रीय कार्यालयले जिल्ला कार्यसमितिले पार्टी केन्द्रीय कार्यालयमा नयाँ क्रियाशील सदस्यता र नवीकरण सूची पठाउने समयावधि पटकपटक थप्दै आएअनुसार पछिल्लोपटक यही वैशाख १५ गतेसम्म निर्धारण गरेको छ।