
-एसपी उप्रेती
काठमाडौँ, ८ वैशाख । वि.सं. २०७२ साल वैशाखमा आएको भूकम्पले नेपालमा ठूलो जनधनको क्षति भयो ।
१२ हजार बढी मानिसको ज्यान गयो भने करिब ५ लाख भौतिक संरचनाहरु ध्वस्त भए । तिमध्ये हजारौँ सांस्कृतिक सम्पदाका धरोहरहरु समेत परे । त्यस्तैमा ऐतिहासिक संरचना धरहरा पनि ढल्यो ।
सरकारले पुनर्निर्माण गर्ने प्रतिवद्धताअनुसार ५ वर्षपछि धरहराको स्वरुप ठडिएको छ । केही महिना अघि ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सम्पन्न गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको पुनर्निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ ।
त्यही क्रममा वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिने कार्यक्रम तय भएको छ । धरहरामा लिफ्टको काम तथा अन्य केही कार्यहरु बाँकी नै रहेकाले सर्वसाधारणले भने केही समयपछि मात्रै अवलोकन गर्न पाउने भएका छन् ।
धरहराको गजुरमा सजावट लगायतको कार्य बाँकी रहेको त्यस्तै, जमिनमा पनि केही कार्यहरु बाँकी रहेको देखिएको छ । तर माथिबाट रंगरोगनको कार्य सकिँदै आएको छ । पछिल्लो समय निकै तीव्र गतिमा धरहराको पुनर्निर्माण भएको थियो ।
त्यस्तै, पुरानो धरहराको भग्नावशेषलाई पनि सुरक्षित तवरले राखिएको छ । ताकि भविष्यमा ऐतिहासिकता झल्काओस् ।
यसरी हेर्दा अब धरहरामा चढेर काठमाडौँको मनोरम दृश्यको अवलोकन गर्ने दिन छिट्टै आउने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवालीका अनुसार पुनर्निर्मित धरहरा भूकम्प प्रतिरोधात्मक रहेकाले निर्धक्क चढेर अवलोकन गर्न सकिनेछ ।
लगभग पुनर्निर्माण असम्भव जस्तै देखिए पनि हालसम्म ६० प्रतिशत भन्दा बढी संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै बाँकी रहेका संरचनाहरु पनि धमाधम भइरहेका ज्ञवालीले बताए ।













प्रतिक्रिया