बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

उदयपुर गढीमा खानेपानीको हाहाकार

दैनिक नेपाल २०७८ वैशाख ५ गते १५:०३

उदयपुर, ५ वैशाख । पर्यटकीयस्थलका रुपमा चिरपरिचित रहँदै आएको गढी गाउँपालिकाको उदयपुर गढी क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ ।

डेढ महिनादेखि सो क्षेत्रमा पानी लिफ्टिङ्ग गर्ने जेनेरेटर बिग्रिएकाले खानेपानीको हाहाकार भएको हो । स्थानीय होटेल व्यवसायी तथा घरबास (होमस्टे) सञ्चालक कृष्ण धमलाले गढी क्षेत्रमा खानेपानीको समस्या भएको जानकारी दिए ।

तीन किलोमिटर दूरीमा रहेको जोगिधाराबाट लिफ्टिङ्ग गरेर पानी तान्ने गरिएको थियो । यसबाट गढी गाउँपालिकाको कार्यालयसहित झण्डै ५० घरले पानीको उपयोग गर्दै आएका थिए । केही स्थानीयवासी दुई घण्टा लाग्ने जोगिधारा र कोही नौ किलोमिटर वैद्यनाथ खोलाबाट ट्रयाक्टरमा पानी बोकाएर खान बाध्य छन् ।

गढी घुम्न आउने पर्यटकसमेत पानीको समस्या देखेर गढीमा बास बस्न छाडेका छन् भने घुम्न आउने पर्यटकको सङ्ख्या पनि ह्वात्तै घट्न पुगेको होमस्टे सञ्चालक देवराज राईले जानकारी दिए ।

गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउत भन्छिन्, “केही वर्षदेखि गढी क्षेत्रमा खानेपानी समस्या समाधान गर्न जोगिधाराबाट लिफ्टिङ्ग गरेर गढीका ५० घर जनतालाई धाराबाट पानी वितरण गर्दै आएका हौँ । केही महिनादेखि प्राविधिक समस्याका कारण खानेपानीको समस्या आयो ।” उनले गढी क्षेत्रमा बिजुली आइसकेको र मेशिन सञ्चालन गर्न तेल नचाहिने हुँदा खानेपानीको समस्या छिट्टै समाधान हुने दाबी गरिन् ।

गाउँपालिकाका अध्यक्ष मोहन केपीछाके मगरले खानेपानी समस्या समाधान वैद्यनाथ खोलादेखि नै पानी लिफ्टिङ्ग गरेर गढी क्षेत्रसम्म पुर्याउन लागिएको जानकारी दिए ।

गढी समुद्री सतहदेखि दुई हजार मिटरको उचाइरमा रहेको एतिहासिक पर्यटकिय स्थल हो । तत्कालीन राजा पृथ्बीनारायण शाहका फौजले आक्रमण गर्नुअघि गढीमा उदयसेन राजाले राज्य गरेको बताइएको छ ।

गढीमा एक हजार वर्ष पुरानो वरको रूख रहेको छ भने पञ्चावती देवीको मन्दिर जस्ता महत्वपूर्ण मन्दिर पनि छ । गढीबाट उत्तरतिर एकैपटक ६ वटा हिमशृङ्खलाहरु अवलोकन गर्न सकिन्छ ।

गढीबाट दक्षिणतिर तराईको धनुषाको जनकपुर, सिरहा, सप्तरीसहित पश्चिमतिर सिन्धुली रामेछाप, ओखलढुङ्गा उत्तर खोटाङ र भोजपुर क्षेत्र एकैचोटि अवलोकन गर्न सकिन्छ ।

एक सय गन्तव्यको सूची मध्येमा गढी पनि रहेको छ । खानेपानीको समस्याका कारण गढीका धेरै जनता गाउँ छाडेर अन्यत्र बसाइँ सर्ने क्रम बढ्दै गएको छ । विसं २०६४ सम्ममा गढी क्षेत्रमा २२० घर रहेको भए पनि बसाइँ सर्ने क्रम बढ्दै गएपछि अहिले ५० घर मात्र रहेका छन् । –रासस

प्रतिक्रिया
सम्बन्धित