शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बोरुसियालाई पराजित गर्दै म्यानचेस्टर युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश

दैनिक नेपाल २०७८ वैशाख २ गते ७:२१

लण्डन, २ वैशाख । जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा २–१ को तथा समग्रमा ४–२ को जित निकाल्दै सिटीले अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । पहिलो लेगमा पनि सिटीले २–१ को जित निकालेको थियो । सिग्नल इडुना पार्कमा बुधबार राति भएको खेलमा सिटीले एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै जित निकालेको हो ।

सिटीको जितमा रियाद महारेज र फिल फोडेनले गोल गर्दा घरेलु टोलीका जुडे बेलिङघमले गरेको गोल सान्त्वना बन्यो । खेलको १५औं मिनेटमा जुडे बेलिङघमले गोल गर्दै डर्टमुन्डलाई अघि बढाएका थिए । उनले एर्लिङ ब्राउट हालान्डको पासमा गोल गरेका थिए ।

५५औं मिनेटमा रियाद महारजेले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । इम्री क्यानले पेनाल्टी बक्समा बल क्लियर गर्ने क्रममा हातले छुन पुगेपछि रेफ्रीले सिटीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा महारजे चुकेनन् । ६०औं मिनेटमा हालान्डले अवसर खेर फाल्दा डर्टमुन्ड अग्रता लिनबाट चुक्यो ।

६९औं मिनेटमा मयट हमेल्सको पासमा मार्को रिउसको हेडर पोस्ट नजिकैबाट बाहिरियो । ७५औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए । उनले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए ।

अब सिटीले सेमिफाइलनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को सामना गर्नेछ । अर्को सेमिफाइनलमा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित