मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

फेरि बढ्यो जोखिम, नियन्त्रण गर्न नियमहरू बने, कार्यान्वयन फितलो

दैनिक नेपाल २०७७ चैत ३१ गते ६:५७

काठमाडौं, ३१ चैत । गत वैशाख १ गते लकडाउनका कारण घरमै नयाँ वर्ष मनाइरहँदा २ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । दुई जना थपिँदा पनि ‘अब मरिने भइयो’ भन्दै सर्वसाधारण लामो सास फेर्थे । त्यो दिनसम्म संक्रमितको कुल संख्या १४ मात्र पुगेको थियो ।

संक्रमण हुन सक्ने डरले मानिसहरू पसलबाट ल्याएको दूधका प्याकेट होस् वा फलफूल, घाममा राख्ने र धोइपखाली गर्थे । सिधै भान्सामा लैजान डराउँथे । आफन्तलाई भेट्दासमेत कोरोना सर्ने डरले फोन र सामाजिक सञ्जालबाट नयाँ वर्षको शुभकामना साटासाट गरे । नयाँ वर्ष मनाउन न बजार पसल खुलेको थियो, न त रमाइलो गर्न जाने कुनै पार्क नै । कोरोना संक्रमण बढ्न नदिन सरकारले घोषणा गरेको दोस्रो चरणको लकडाउनको पालना गर्दै सर्वसाधारण घरभित्रै थिए ।

यो वर्षको सुरुवातमा जति त्रास थियो अहिले अन्त्यमा पनि डर कायमै छ । कोरोनाको पहिलो लहर जेठको दोसो सातादेखि बढेर असारको पहिलो साता उच्च बिन्दुमा पुगेको थियो । साउनको पहिलो सातामा न्यून भएको संक्रमण पुनः बढ्दै कात्तिकको दोस्रो सातामा उच्च बिन्दुमा पुग्यो । कात्तिक ५ गते सबैभन्दा बढी ५ हजार ७ सय ४३ संक्रमितको पहिचान भएको थियो । कात्तिक १० मा संक्रमण दर सबैभन्दा बढी ३५ प्रतिशतसम्म पुग्यो । त्यसपछि माघको पहिलो सातामा कम भए पनि चैत दोस्रो सातादेखि फेरि संक्रमण बढ्न थालेको हो । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य मापदण्ड पालना नभएमा आउँदो जेठ–असारमा संक्रमण दर उच्च बिन्दुमा पुग्ने सरकारको आकलन रहेको प्रतिनिधिसभाको चैत २३ को बैठकमा जानकारी गराइसकेका छन् । पछिल्लो केही दिनयता सरकारको अनुमान सही साबित हुँदै गएको छ ।

यो वर्षको सुरुवातमा संक्रमितको संख्या कमै थियो । लकडाउन र आवतजावत बन्द भएकाले सबैजसो घरभित्रै हुँदा संक्रमण फैलिन पाएको थिएन । वर्षको अन्त्यमा फरक यति हो, लकडाउन छैन । कोरोना नभएकै जस्तै आवतजावत खुकुलो छ । विद्यार्थी संक्रमितको संख्या बढेपछि स्कुल, कलेजलगायतका शैक्षिक संस्थाहरू बन्द गर्ने वा खोल्ने विषयमा बहस जारी छ । सिनेमा हल, नाटकघर यथावत् रूपमा चलेका छन् । सरकारको विरोधमा होस् या समर्थनमा हुने प्रदर्शन जारी छन् । ‘टोलमा एक–दुई जना भेट्दा पनि कोरोना छ कि भनेर शंका गर्थे,’ सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले भने, ‘संक्रमण बढ्दै गयो । संक्रमितले नै कोरोना केही होइन रहेछ भनेपछि संक्रमण फैलिँदै जाँदा पनि डर कम हुँदै गयो ।’

यो वर्षमा महामारी के हो र कसरी व्यवस्थापन गर्ने भन्नेमा सरकारलाई राम्ररी पाठ सिकाएको उनले बताए । ‘हामीले सोचेको महामारी र साँच्चिकै हुने महामारी फरक हुँदो रहेछ । जीवन के रहेछ ? मान्छेमा कति डर, त्रास हुँदो रहेछ हेर्ने र भोग्ने मौका पायौं,’ उनले भने, ‘यो वर्षमा महामारीका बेला संस्थागत व्यवस्थापन कसरी गर्ने ? बिरामी र कर्मचारी व्यवस्थापन कसरी गर्ने थाहा भयो । त्यसैले यो वर्षलाई सिकाइको वर्षका रूपमा लिन्छु ।’ महामारी विज्ञानले मात्रै नभई यससँग जुध्न सक्ने जुझारुपन पनि आवश्यक पर्ने सिकाएको उनले बताए । ‘गाडीबाट रोग सर्छ कि भन्थ्यौं । मान्छे अफिस छिर्न पनि डराउँथे । तर, अहिले आएर लक्षणसहितको संक्रमण हुँदा पनि डराउन छाडे । स्वास्थ्य सावधानी र मापदण्ड पालना गर्नुपर्ने पाठ यो वर्ष बच्चादेखि बूढाबूढी सबैले सिके,’

उनले भने, ‘संक्रमित भएर थलिएका धेरैलाई बचाउन सकेकामा मचाहिँ यस वर्षलाई सफल वर्षका रूपमा लिन्छु ।’ स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म २ लाख ८० हजार ५ सय २४ जना संक्रमित भइसकेकामा ३ हजार ५३ ले कोरोनाकै कारणले ज्यान गुमाइसकेका छन् । ‘संक्रमितमध्ये ९९ प्रतिशतलाई त हामीले बचाउन सक्यौं नि,’ डा. बाँस्तोलाले भने ।

शिक्षाविद् प्राध्यापक विद्यानाथ कोइरालाले यो वर्षमा कोरोनाले पारेको असरलाई बिर्सने हो भने प्रविधिमैत्री वर्षका रूपमा हेर्न सकिने बताउँछन् । नियमित पढाइमा होस् वा कार्यालयका काम प्रविधिकै सहायताले घरबाटै सम्भव भएको उनले बताए । ‘जसलाई फेसबुकबाहेक अरू चलाउन आउँदैनथ्यो, उसले जुममार्फत नियमित कक्षा चलाए । बैठकमा सहभागी भए । यसलाई उपलब्ध मान्नुपर्छ । कति पटक तालिम लिँदा पनि व्यवहारमा उतार्न नसक्ने व्यक्तिहरूलाई परिस्थितिले प्रविधिसँग झुक्ने बनायो,’ उनले भने, ‘यतिसम्म कि कम्प्युटर चलाउन नजान्ने शिक्षकले पावर प्वाइन्ट बनाएर नियमित कक्षा चलाउने भयो ।’

संक्रमण रोकथाम, नियन्त्रण र पहिचान गर्न सरकारले चालेको कदमकै कारण अन्य मुलुकको तुलनामा संक्रमण र मृत्युदर न्यून भएको सरकारको दाबी छ । कोरोना संक्रमितको पहिचान, नियन्त्रण र रोकथाम गर्न ५० भन्दा बढी निर्देशिका र नियमहरू बनाएको थियो । कतिपय नियम बन्यो तर, कार्यान्वयन हुनै सकेन । भीडभाड नगर्ने, स्वास्थ्य मापदण्ड पालना गराउने नियम पनि कार्यान्वयन हुन सकेको छैन । सरकारमा रहेको दल नै आपसी द्वन्द्वमा फसेपछि कोरोना नियन्त्रणमा चासो नदिएको विज्ञहरू बताउँछन् । ‘कोरोना नियन्त्रणमा जुट्नुपर्ने दलका नेताहरू आपसी द्वन्द्वमा जुटे । कोरोना घटेको सरकारका कारण होइन, जनताले स्वास्थ्य सावधानी अपनाएर हो,’ स्वास्थ्य मन्त्रालयका एक पूर्वसचिवले भने, ‘अझै पनि आवश्यक सावधानी र तयारी नगर्ने हो भने मुलुकले नोक्सानी भोग्नुपर्छ ।’ सरकारले संक्रमण बढ्न नदिन झन्डै ५ महिना लकडाउन गरेको थियो । चैत ११ देखि सुरु भएको लकडाउन साउन पहिलो सातासम्म गरेको थियो । आवागमन नै बन्द भएपछि सर्वसाधारण सहरबाट हिँडेर गाउँसम्म गए । रोजगारी गुमाएकाहरू सडकमा माग्न निस्कनेसम्म भए । मकर श्रेष्ठले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित