शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

डढेलोले सखाप हुँदै वन

दैनिक नेपाल २०७७ चैत ३० गते ६:५२

काठमाडौं, ३० चैत । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ ।

विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले मुलुकका अधिकांश क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ तर हरेक वर्ष सचेतनाको कार्यक्रम गर्दै आएको सरकारले रोकथाम तथा नियन्त्रणमा पर्याप्त योजना ल्याउन सकेको छैन भने भएका कार्यक्रम र योजना पनि प्रभावहीन बन्दै आएका छन् ।

आइतबार दिउँसो डढेलो लागेपछि नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल निकुञ्ज क्षेत्रमा पुग्यो । दमकलले ढडेलो नियन्त्रण गर्न कठिन भएपछि सेना र सिम्रिक एयरको हेलिकोप्टरले डढेलो नियन्त्रणको प्रयास गरेको महाराजगन्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।

सैनिक मुख्यालय प्रमुख सेनानी दीपक भण्डारीका अनुसार सेनाका तीनवटा दमकल र सिम्रिक एयरका समेत गरी दुई हेलिकोप्टर डढेलो नियन्त्रणका लागि पठाइएको र डढेलो लगभग नियन्त्रणमा आएको थियो ।

मनाङका जंगलमा लागेको डढेलो अझै पूर्णनियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रूखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला प्रशासन, नेपाली सेना, सशत्र प्रहरीबल र नेपाल प्रहरीले डढेलो नियन्त्रणमा लिएका थिए ।

यसका लागि अग्निरेखा तयार गरी आगो आउने क्षेत्रमा आगो लगाएर आगो नियन्त्रण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आगो नियन्त्रणमा लिन जिल्लाका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी दिए ।

हिमाली क्षेत्रमा बिरुवा उम्रन समय लाग्छ । उम्रिए जोगाउनै हम्मेहम्मे पर्ने जिल्लामा स्थानीयवासीले दुःख गरेर जोगाएका वनमा आगो लाग्न थालेको डेढ महिना भयो । स्थानीय खान्की नै बोकेर जंगल आगो निभाउन पसेका थिए । सविन शर्माले राजधानी दैनिकमा खबर लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित