मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

जसपाको बोल्ड घोषणा, कांग्रेस–माओवादी निरास

दैनिक नेपाल २०७७ चैत २९ गते १०:५६

काठमाडौं, २९ चैत । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महताले प्रधानमन्त्री केपी ओलीसँगै सत्ता सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतोले ओली सरकारमा जान सकिने बताएका छन् । उनले जसपाका माग कार्यान्वयनको चरणमा गएको भन्दै ओली सरकारमा सहभागी हुन सक्ने उल्लेख गरे ।

‘सरकारमा जान पनि सकिन्छ । बाहिर बसेर समर्थन गर्न पनि सकिन्छ । यो सम्भावना धेरै छ’, जसपाका नेता महतोले भने, ‘केपी ओली नेतृत्वको सरकारसँग वार्ता चलिरहेको छ ।’
‘माग सम्बोधन भयो भने सरकारमा सहभागी हुन्छौँ’, नेता महतोले भनेका छन् ।

‘केपी ओलीलाई हेरौँ । यो सरकारले काम गर्‍यो भने यही गठबन्धन रहन सक्छ’, उनले भने, ‘सरकारमा जानेबारे जसपाले निर्णय गर्न सक्छ ।’

ओलीलाई बिस्थापित गरेर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा महतोले धेरै रुचि देखाएनन् । उनले सरकारमै रहेको दलसँग माग पूरा गराउन सजिलो हुनेभन्दै कांग्रेससँग पछिको कुरा हुने बताए ।

नेता महतोले सरकार बनाउने विषयमा कांग्रेसको प्रस्ताव मात्रै आएको भन्दै देउवासँग वार्ता गर्नुभन्दा अगाडि जसपाका शीर्ष नेताहरूको बैठक बसेर एउटा साझा धारणा बनाएर बुढानिलकण्ड पुगेको बताए ।

महतोले ओली सरकारले आफूहरूका माग पूरा गर्न धेरै हदसम्म अगाडि बढिसकेको बताए । उनले कांग्रेससँग सरकार बनाउनेबारेमा खासै ध्यान दिएनन् । नेता महतोको यो घोषणाले कांग्रेस र माओवादी केन्द्रलाई तनाब बढाइदिएको छ ।

सोही कार्यक्रममा प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जसपाका जायज मागहरू पूरा हुने बताए । उनले रेशमलाल चौधरीको मुद्धा अदालतमा विचाराधीन रहेकाले त्यसबारेमा कसरी अगाडि बढ्ने भन्नेबारेमा जसपालाई स्वयं जानकारी रहेको बताए ।

संविधान संशोधनका विषयमा पनि सरकार सकारात्मक रहेको भन्दै डा.भट्टराईले छलफल गरेर जान सकिने बताएका छन् ।

सल्लाहकार डा.भट्टराईले ओलीले अहिले राजीनामा नदिने बताए । उनले भने, ‘कसैले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनु हुन्न । प्रक्रियाअनुसार राजीनामा माग्न दलहरूलाई सुझाव छ ।’

प्रतिक्रिया
सम्बन्धित