शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

भारतमा कोरोना बढेपछि दिल्लीमा प्रतिबन्ध क्षेत्र घोषणा

दैनिक नेपाल २०७७ चैत २९ गते ८:१९

नयाँदिल्ली, २९ चैत । भारतमा कोरोना संक्रमण तिव्र रुपमा वृद्धि हुन थालेपछि दिल्ली सरकारले शनिवार केही क्षेत्रमा प्रतिबन्ध घोषणा गरेको छ ।

दिल्ली सरकारले सामाजिक, राजनीतिक, खेल र मनोरञ्जनसँग जोडिएका सार्वजनिक गतिविधि रोक लगाउने निर्णय गरेको हो ।

मुख्यमन्त्री अरविन्द केजरीवाल सरकारले संक्रमणको दोस्रो लहर रोक्न यस्ता प्रतिबन्ध घोषणा भएको बताएको छ । भारतमा केही दिनयता दैनिक १ लाखको दरमा नयाँ कोरोना संक्रमित फेला पर्न थालेका छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने बाहेक अन्य व्यक्तिले कुनै पनि स्विमिङ पुल प्रयोग गर्न अनुमति पाउने छैनन् ।

विवाहमा ५० र अन्तिम संस्कारमा २० भन्दा धेरै मानिस सहभागी हुन पाउने छैनन् । होटल तथा रेष्टुरेन्टमा ५० प्रतिशत सिटमात्र प्रयोग गर्न पाइन्छ । सबै कलेज र कोचिङ सेन्टर बन्द रहनेछन् ।

बस र मेट्रोमा ५० प्रतिशतमात्र यात्रु राख्न पाइनेछ । हवाई यात्रामार्फत महाराष्ट्रबाट दिल्ली आउनेले आरटी पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य ल्याउनुपर्ने नियम जारी गरिएको छ । विना रिपोर्ट आएमा १४ दिन अनिवार्य क्वारेनटिनमा बस्नुपर्ने नियमसमेत दिल्ली सरकारले बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित