बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

२४ घण्टाभित्र भारतमा भेटिए १ लाख ४४ हजारभन्दा बढी संक्रमित, दाहसंस्कारमा घन्टौंको लाइन

दैनिक नेपाल २०७७ चैत २८ गते ११:२२

नयाँ दिल्ली, २८ चैत । भारतमा कोरोनाको ग्राफ लगातार बढ्दो छ ।

शनिबार रेकर्ड स्तरको नयाँ संक्रमितको आँकडामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ४४ हजार ८२९ संक्रमित भेटिएका छन् । अघिल्लो वर्ष भाइरस सुरु भएदेखि अहिलेसम्म यो दैनिक भेटिएका संक्रमितको सर्वाधिक संख्या हो । यसअघि बिहीबार १ लाख ३१ हजारबिरामी भेटिएका थिए ।

यस्तै सक्रिय संक्रमितको संख्यामा पनि अत्यधिक वृद्धि भएको छ । शुक्रबार देशभरी ७७ हजार १९९ मानिस निको भएका छन् जबकी ७७३ बिरामीको मृत्यु भएको छ ।

यसरी सक्रिय संक्रमितको संख्यामा ६६ हजार ७६० को वृद्धि भएको छ । यो आँकडा कोरोनाको अघिल्लो चरणको भन्दा अत्यधिक धैरै हो । अघिल्लो वर्ष १७ सेप्टेम्बर ताका संक्रमण उच्च स्थानमा थियो । त्यस दिन देशमा सबैभन्दा बढी १०।१७ लाख सक्रिय संक्रमित थिए ।

त्यसपछि यो आँकडा घट्न थालेको थियो तर अब पुनः स्थिति भयावह हुँदैछ । यस्तै रिकभरी रेटमा लगातार गिरावट आइरहेको छ । एकदिन अघि ९१.७६ प्रतिशतले घटेर ९०.८ प्रतिशत रहेको छ । पछिल्लो तीन हप्ता अघि यसमा करिब ८ प्रतिशतको गिरावट दर्ता गरिएको छ ।

सबैभन्दान्दा कम छत्तिसगढमा ८०.५ प्रतिशत र महाराष्ट्रमा ८२ प्रतिशत बिरामी रिकभर भएका छन् । यहाँ सक्रिय संक्रमित बढी छन् । छत्तिसगढमा अहिले १८.४ प्रतिशत र महाराष्ट्रमा १६.३ प्रतिशत सक्रिय संक्रमित छन् ।

अन्तिम संस्कारका लागि घण्टौं लाइन

कोरोना संक्रमणको फैलिँदो अवस्था भारतका कयौं राज्यका लागि चुनौतीको विषय बन्दै गइरहेको छ । कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको अन्तिम संस्कारमा पनि समस्या देखिएको छ । उत्तर प्रदेश र मध्य प्रदेशका कयौं जिल्लामा शवको अन्तिम संस्कारका लागि घण्टौँ प्रतीक्षा गर्नु परिरहेको छ ।

खासगरी उत्तर प्रदेशको राजधानी लखनउ र मध्य प्रदेशको राजधानी भोपालमा दिनदिनै चिन्ताजनक अवस्था बढ्दो छ । भोपालका केही संगठनका अनुसार राजधानीमा ‘ग्यास त्रासदी’पछि पहिलोपटक यस्तो स्थिति देखिएको छ ।

पत्रकार समीरात्मज मिश्रका अनुसार उत्तर प्रदेशका जे परिदृश्य देखिएको छ, सरकारको दावी र तथ्याङ्कभन्दा निकै भिन्न छ । कोरोनाभाइरस संक्रमणको कारण मृत्यु भएकाहरुको अन्तिम संस्कारका लागि उनीहरुको परिवारले टोकन लिएर घाटमा आठदेखि दश घण्टासम्म प्रतीक्षा गर्नु परिरहेको छ ।

लखनउको बैकुण्ठ धाम विद्युत शवदाह गृहमा दैनिक करिब २५ शवको अन्तिम संस्कार भइरहेको छ । शवदाह गृहका एक कर्मचारी मुन्ना सिंहका अनुसार एउटा शवको अन्तिम संस्कारमा करिब ४५ मिनेट समय लाग्छ ।

प्रतिक्रिया
सम्बन्धित