शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेपाल टेलिकममा यी नम्बरबाट पाइन्छन् यस्ता सेवाहरु

दैनिक नेपाल २०७७ चैत २५ गते २१:५५

काठमाडौँ, २५ चैत । नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरू राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ ।

हाल कम्पनीले उपलब्ध गराइरहेको १९१, १९७, १९८ र १४९८ नम्बरहरु कम्पनीद्वारा प्रदत्त विभिन्न सेवाहरुको बारेमा बुझ्न र गुनासा टिपाउन धेरै नै उपयोगी बनेका छन् । सोधपुछ तथा गुनासा व्यवस्थापनका लागि प्रयोग गरिएका यी नम्बरहरु ग्राहककै सहजताका लागि निःशुल्क गरिएका छन् ।

१९१ ग्राहक सेवाहरु

जीएसएम, सीडीएमए र वाइम्याक्स सेवाको बारेमा जानकारी लिनका लागि १९१ नम्बरमा कल गर्न सकिन्छ । १९१ नम्बरमा कल गरेपछि प्राप्त निर्देशन अनुसार जीएसएमको लागि अंक १, सीडीएमएको लागि अंक २ र वाइम्याक्सका लागि अंक ३ थिच्नुपर्छ । त्यसपछि सम्बन्धित सेवाका बारेमा जिज्ञासा राख्न र गुनासो टिपाउन सकिन्छ ।

१९७ ग्राहक सेवाहरु

नेपाल टेलिकमको ल्यान्डलाइन अर्थात स्थानीय टेलिफोनको नम्बर थाहा पाउनका लागि १९७ नम्बरमा मोबाइल वा कुनैपनि टेलिफोन नम्बरबाट कल गर्न सकिन्छ । त्यसपछि अपरेटरले ग्राहकले खोजेको व्यक्ति वा संस्थाको टेलिफोन नम्बर टेलिफोनबाटै उपलब्ध गराउँछ ।

हाल आफूलाई चाहिएको व्यक्ति वा संस्थाको ल्यान्डलाइन नम्बर कम्पनीको वेबसाइटमा उपलब्ध लिंक https://ntc.net.np/fixed-line-enquiry मा गएर पनि खोज्न सकिन्छ ।

व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ भने संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर खोज्न सकिन्छ ।

१९८ ग्राहक सेवाहरु

नेपाल टेलिकमका सेवाहरुको बारेमा गुनासो टिपाउनका लागि १९८ नम्बरमा डायल गर्न सकिन्छ । नेपाल टेलिकमले सञ्चालन गरिरहेको तारवाला स्थानीय टेलिफोन, एडीएसएल, भिस्याट टेलिफोन, फाइबर टु द होम (एफटीटीएच) र लिज लाइन मर्मतका लागि यसको प्रयोग गर्न सकिन्छ ।

१९८ नम्बरमा कल गरेपछि स्वचालित सिस्टमबाट प्राप्त निर्देशन अनुसार टेलिफोन गुनासोको लागि अंक १, एडीएसएल गुनासोको लागि अंक २, भिस्याट गुनासोको लागि अंक ३, एफटीटीएच गुनासोको लागि अंक ४ र लिज लाइन गुनासोको लागि अंक ५ थिच्नुपर्छ । त्यसपछि दिइएको निर्देशन अनुसार मर्मत गर्नुपर्ने नम्बर उपलब्ध गराएपछि कम्पनीको तर्फबाट मर्मत कार्यको प्रक्रिया अगाडि बढ्छ ।

१४९८ ग्राहक सेवाहरु

मोबाइल र वाइम्याक्स सेवाको बारेमा जानकारी लिनका लागि १४९८ मा फोन गर्न सकिन्छ । मोबाइल तथा वाइम्याक्स सेवा सम्बन्धी कुनै जिज्ञासा वा गुनासो मात्र नभई सेवा प्रयोगका बारेमा कुनै जानकारी प्राप्त गर्नुपरेमा पनि यस नम्बरमा कल गर्न सकिन्छ ।

यसका अलावा नेपाल टेलिकमको कम्पनीको वेबसाइट, नेपाल टेलिकम एप, कम्पनीको फेसबुक, ट्विटरलगायतका विभिन्न सामाजिक सञ्जालहरुबाट पनि कम्पनीका सेवाहरुका बारेमा आवश्यक जानकारी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित