बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

कवि तथा नाटककार गोपालप्रसाद रिमालको जीवनीबारेको पुस्तक सार्वजनिक

दैनिक नेपाल २०७७ चैत २५ गते ९:२५

काठमाडौं, २५ चैत । कवि तथा नाटककार गोपालप्रसाद रिमालको जीवनीबारे लेखक तथा पत्रकार गोविन्दप्रसाद दुलालद्वारा लिखित गोपालप्रसाद रिमाल नामक पुस्तक सार्वजनिक भएको छ ।

बरिष्ठ पत्रकार एवं लेखन कुञ्जका सम्पादक टंक पन्तद्वारा सम्पादित सो पुस्तकको उप–प्रधानमन्त्री ईश्वर पोख्रेलले लोकार्पण गदरेका हुन् । ‘कबि तथा नाटककार गोपालप्रसाद रिमालले चर्चित ऐतिहासिक पुस्तकहरू हामी समक्ष पस्किनुभयो’, पोखरेलले भने, ‘उहाकै बारेमा नलेखिएको पुस्तक आज लेखिएको छ यो आफैमा ऐतिहासिक छ ।’

उप–प्रधानमन्त्री पोखरेलले आमाको सपनाहरू र मसानघाट जस्ता कृतिका लेखक रिमालको ब्याक्तित्व र कृतित्वको खोज अनुसन्धान गरि पुस्तक तयार गर्नु सजिलो नरहेको बताएका छन् ।

लेखक गोविन्द दुलालको मेहनत वरिष्ठ पत्रकार टंक पन्तको कुसल सम्पादनले पुस्तक जुन रुपमा आएको छ त्यो राज्यकै एउटा महत्वपूर्ण सम्पत्ति बनेको उनले बताए ।

रिमाल सबै साहित्यिक व्यक्तिका ढुकढुकी पनि हुन् । रिमाल कवि हुन् तर राजनीतिक पार्टी खोलेर नेताको अवतारमा पनि देखिए । राणाकालीन समयमा युवा भेला पारेर राजधानीमा जागरण–गीत गाउदैँ हिडेँ । क्रान्तिकारी भजनमण्डलीको संयोजन गरेर धार्मिक माध्यमहरूलाई समाजका निम्ति उपयोग गरे । रिमालले नै जनसमक्ष भाषण गर्दा पहिलोपटक ‘जय नेपाल’ भनी अभिवादन गरेका हुन् ।

‘इन्क्लाब जिन्दावाद, प्रजातन्त्र जिन्दावाद !’ नाराको पहिलो प्रयोग उनैबाट भएको हो । अमिन लप्टनको जागिर छोडे । क्रान्तिलाई टेवा पुग्ने कविता–लेखहरू लेखे । जेल गए । अनशन बसे । नजरबन्दमा परे । देशभक्त भए । स्वप्नद्रष्टा भए । कवि, नाटककार र क्रान्तिकारी भए । प्रजातन्त्र स्थापनापछि पनि जनताका सपना पूरा नहुने देखेपछि विक्षिप्त भएर उपचारका लागि राँचीको पाहुना समेत बने ।

तर, जिन्दगीभर आफ्नो राष्ट्रको नक्सा छातीमा बोकेर हिँडे । अवचेतन अवस्थामा राष्ट्रको निलो आकाश हेर्दै ‘मेरो नेपाल, मेरो नेपाल’ भनी रोए । यस्ता व्यक्तित्वको गहकिलो पुस्तक प्रकाशन हुन जरूरी थियो । सरकारले कवि तथा नाटककार गोपालप्रसाद रिमालको नाममा दुई वटा पुरस्कार स्थापना गरेको छ ।

पुस्तक प्रकाशक संस्था घोष्ट राइटिङ नेलालका अध्यक्ष कमल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री आनन्द पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

जनविचार पब्लिकेशन एण्ड रिसर्च परिवारद्वारा गोपालप्रसाद रिमालकी धर्मपत्नी हरिदेवी रिमाललाई अभिनन्दन गरिएको थियो ।

पुस्तकको समीक्षा गर्दै कवि तथा समालोचक डा.रामप्रसाद ज्ञवालीले पुस्तक ऐतिहासिक भएको बताए । उनले पुस्तकका अनुसूचीमा समेटिएका आमाको सपना कविता संग्रह र मसान नाटकले गर्दापनि पुस्तक ऐतिहासिक रहेको उल्लेख गरे ।

विद्यालय तथा विश्वविद्यालयहरूका लागि सन्दर्भ सामग्रीका रुपमा मसानघाट र आमाको सपना पुस्तक अहिले बजारमा नरहेको बेला सो सामग्री गोपालप्रसाद रिमालको यहि पुस्तकमा समेटिनु अर्को राम्रो पक्ष भएको डा.ज्ञवालीले बताए ।

पुस्तकका सम्पादक बरिष्ठ पत्रकार, नेपाली पकारहरूको अन्तर्राष्ट्रिय संजाल इन्जा एशियाका अध्यक्ष टंक पन्तले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । पन्तले यस्तो ऐतिहासिक पुस्तक सम्पादन गर्ने अबसर पाउनु सौभाग्यको कुरा भएको बताए ।

गोपालप्रसाद रिमालका सुपुत्र मदन रिमालले धन्यबाद ज्ञापन गर्दै आफ्ना पिताको पुस्तक प्रकाशन हुनु परिवारका लागि निकै खुशीको कुरा भएको उल्लेख गरे ।

कार्यक्रममा पुस्तकका लेखक गोविन्दप्रसाद दुलालले कार्यक्रम संचालन गर्दै गोपालप्रसाद रिमाल जस्तो राष्ट्रिय व्याक्तित्वको निधन भएको धेरै वर्षपछि पुस्तक लेख्नु आफैमा सजिलो नरहेको बताए । उनले परिवार एवं अन्य बौद्धिक व्याक्तित्वको सहयोगमा पुस्तक तयार भएको उल्लेख गरेका छन् ।

रिमालका कविताका केही हरफहरू

रातो र चन्द्र–सूर्य जङ्गी निसान हाम्रो ।

जिउँदो रगतसरी यो, बल्दो यो सान हाम्रो ।।

एक जुगमा एक दिन एकचोटि आउँछ ।

उलट–पुलट, उथल–पुथल, हेरफेर ल्याउँछ ।।

आमा, त्यो आउँछ र ?

‘हो, बा, त्यो आउँछ ।

यहाँ बुद्ध जन्माउनु पर्छ ।

यहाँ लेनिन जन्माउनु पर्छ ।

मैले त क्रान्तिलाई सलामी दिइसके !

क्रान्तिले मर्द भएर सलाम फर्काउन बाँकी नै छ !!

जस्ता कबिता बाचन बाट कार्यक्रम सुरु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित