बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

भारतले संसारको ध्यान आफूतिर तान्यो, बनायो आर्क ब्रिज

दैनिक नेपाल २०७७ चैत २४ गते ९:३४

नयाँदिल्ली, २४ चैत । भारतीय इन्जिनियरहरूले रेल चल्ने संसारकै अग्लो आर्क ब्रिज बनाएका छन् ।

काश्मीरमा रहेको चेनाब नदीमा बनेको उक्त आर्क ब्रिजको निर्माण सोमबार सकिएको छ । नदीको सतहदेखि ३५९ मिटर अग्लो रहेको यो आर्क ब्रिजको उचाइ पेरिसको आइफेल टावरको भन्दा ३५ मिटर अग्लो छ । १३ सय १५ मिटर लामो ब्रिजमा १७ वटा स्पान छन् ।

भारतको नर्दन रेलवेले बनाइरहेको २७२ किलोमिटर लामो रेलमार्गअन्तर्गत २८ हजार करोड भारू लागतमा ब्रिज बनाइएको हो ।

१० हजार ९ सय १६ मेट्रिक टन तौल भएको यो ब्रिजले ८ म्याग्नेच्युडको भूकम्प धान्न सक्छ । १०० किलोमिटर गतिमा रेल कुद्न सक्ने गरी बनाइएको ब्रिजको आयु १२० वर्ष हुने बताइएको छ ।

यो रेलमार्गको योजना सन् २००२ मा बनेको हो । २००४ देखि काम सुरू भएको रेलमार्गको सबैभन्दा चुनौतीपूर्ण भाग नै यही पुल थियो । यो पुल बनेपछि जम्मु-काश्मीर बाँकी भारतसँग रेलमार्गबाट जोडिने भएको छ ।

अब त्यहाँ रेलवे लिक बनाउन सुरू गरिनेछ। एक वर्षमा त्यहाँ लिक बिछ्याउने काम सकिने र साढे २ वर्षमा रेलमार्ग सञ्चालनमा आउने अधिकारीहरूले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्क ब्रिज बन्नुलाई ठूलो उपलब्धि बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित