बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली झर्‍यो

दैनिक नेपाल २०७७ चैत २३ गते १०:३५

धनगढी, २३ चैत । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली सरेको छ ।

राजधानी कैलाली स्थापना भएसँगै उक्त कार्यालय कैलालीमा सरेको प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

उनले भने, ‘राजधानी कायम भएको ठाउँमा प्रदेश प्रहरी कार्यालय राख्ने भन्ने कानूनी व्यवस्था भएअनुसार प्रदेश प्रहरी कार्यालय सरेको हो ।’

वर्षौं पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका सेनाको पृतना तथा प्रदेश प्रहरी कार्यालय कैलालीमा सरेपछि डोटीका स्थानीयवासी असन्तुष्ट भएका छन् ।

नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय यसअघि नै कैलालीको तेघरीमा सरेको हो ।

दिपायलमा राजधानी कायम नभए पनि क्षेत्रीयस्तरका कार्यालय कैलाली नसार्ने नेताहरूले आश्वासन दिए पनि अहिले रातारात कैलालीमा कार्यालय सारिन लागेको भन्दै स्थानीयवासीले असन्तुष्टि व्यक्त गर्न थालेको जगत पुस्तक भण्डार दिपायल पिपल्लाका खडकबहादुर शाहीले बताए ।

उनले भने, ‘राजधानी कायम नभए पनि क्षेत्रीयस्तरका कार्यालय नसार्ने भनेर मुख्यमन्त्री सहितका अन्य मन्त्री तथा नेताले आश्वासन दिए, अहिले धमाधम कार्यालय सारे यस्तो पनि हुन्छ र ?’

सङ्घीयता कायम हुनुभन्दा पहिले डोटीको दिपायलमा रहेका क्षेत्रीयस्तरका कार्यालय अहिले कैलालीको धनगढी सारिन थालेपछि भवन खाली हुँदै गएका छन् ।

प्रतिक्रिया
सम्बन्धित