बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

चीनमा कोरोनाको संक्रमण फेरि बढ्यो

दैनिक नेपाल २०७७ चैत २३ गते १०:३०

बेइजिङ, २३ चैत । चीनमा जनवरी ३१ पछि आइतबार सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित फेला परेका छन् ।

दक्षिणपश्चिमी प्रान्त युनानको रूइली सहरमामात्रै आइतबार १५ जनामा संक्रमण देखिएको छ । म्यानमारसँग सीमा जोडिएको यो सहरमा भेटिएका सबै संक्रमित स्थानीय रूपमा संक्रमित भएका हुन् ।

विदेशबाट आएका संक्रमितहरू समेत जोड्दा आइतबार संक्रमितको संख्या ३२ पुगेको छ । चीनले लक्षणविहीन संक्रमितलाई संक्रमितको सूचीमा नराखे पनि आइतबार लक्षणविहीन संक्रमितको संख्या १८ जना थियो ।

रूइली सहरमा भेटिएका संक्रमितको जेनेटिक एनालाइसिस गर्दा नयाँ संक्रमण म्यानमारबाट आएको देखिएको छ । आइतबार थपिएकामध्ये ११ जना संक्रमित म्यानमारी नागरिक भएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अधिकारीहरूले रूइली सहरका नागरिकहरूलाई केही दिनदेखि होम क्वारेन्टिनमा राखेका छन् । गत सातादेखि त्यहाँ ठूलो मात्रामा परीक्षण भइरहेको छ भने सहर छोड्न र प्रवेश गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

कोरोनाको संक्रमण रोक्न अधिकारीहरूले सहरमा खोप अभियानलाई पनि तीव्रता दिएका छन् । कोरोनाभाइरसको उद्गमथलो चीनमा अहिलेसम्म ९० हजार ३०५ जनामा संक्रमण भएको छ भने ४ हजार ६ सय ३६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित