बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

ठाकुरद्वारा ओलीको प्रशंसा, प्रधानमन्त्री बन्नेमा ढुक्क, कांग्रेसलाई तनाब

दैनिक नेपाल २०७७ चैत २३ गते ९:४०

काठमाडौं, २३ चैत । जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्न नसकिने संकेत गरेका छन् ।

‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा ठाकुरले प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओली जसपाको माग पूरा गर्न तयार रहेकाले ओलीसँगै सहकार्य गर्ने बताए । अध्यक्ष ठाकुरले सरकारमा सहभागी हुने भन्ने भनाइहरूको खण्डन गर्दै अबको सरकार भनेको गठबन्धनको हुने बताए ।

जसपाका अध्यक्ष ठाकुरले सरकारको नेतृत्व आफूहरूले पनि पाउनुपर्ने बताए । उनले ओलीले आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्ने विश्वास गरेका छन् ।

जेलमा रहेका नेताहरूको मुद्धा फिर्ता, संविधान संशोधन, नागरिकता, जातीय आधारमा राज्य पुनःसंरचनालगायतका माग आफूहरूको रहेको ठाकुरले बताएका छन् । संविधानमा केही कुरा आए पनि आन्दोलनका बेला भनिएको जातीय आधारको राज्य बन्न नसकेको ठाकुरले उल्लेख गरेका छन् ।

विवाह गरेर आउने विदेशी महिलालाई तत्काल नागरिकता, अंगिकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने उनले माग गरेका छन् ।

संविधान संशोधन गर्दा कांग्रेससहितका सबै दलहरूले एमाले र जसपाको प्रस्तावलाई साथ दिनुपर्ने ठाकुरले उल्लेख गरेका छन् । कांग्रेससँग सहकार्य नगर्ने बताएका ठाकुरले कांग्रेसभन्दा केपी ओली आफूहरूको माग सम्बोधन गर्न अगाडि देखिएको बताए ।

ओलीको प्रशंसा गरेका ठाकुरले ओलीले सबै निर्वाचन क्षेत्रमा सडक बनाउन शिलान्यास गरेको विषयको स्वागत गरेका छन् । उनले ओलीले धेरै राम्रा काम गरेको पनि बताएका छन् ।

जसपाका अध्यक्ष ठाकुरसँग कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार भेटेका थिए । भेटमा ओलीलाई विस्थापित गरेर कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउनुपर्ने विषयमा छलफल भएको थियो ।

तर, ठाकुरले कांग्रेससँग मिलेर सरकार बनाउन रुचि देखाएका छैनन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने दवाव दिएर निर्णय गराएका थिए । पौडेल–सिटौलाको त्यो दवाव काम नलाग्ने भएको छ ।

नयाँ सरकार बनाउन जसपा महत्वपूर्ण शक्ति भएर बसेको छ । जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री जसले दिन्छ उसैलाई सहयोग गर्ने बताए पछि कांग्रेसका समस्यामा परेको छ ।

अध्यक्ष ठाकुरले उपेन्द्र यादव र बाबुराम भट्टराईप्रति आक्रोश पोखेका छन् । यादव र भट्टराईले ओलीको आलोचना गरेकोमा अध्यक्ष ठाकुरले विरोध गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित