शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

तेस्रो आइएमई टेनिस प्रतियोगिता सकियो, अकि र सर्भानीलाई यु–१६ को उपाधि

दैनिक नेपाल २०७७ चैत २२ गते १४:५९

काठमाडौँ, २२ चैत । अकि जुविन राउत र सर्भानी श्रेष्ठले तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता अन्तर्गत यु–१६ तर्फको उपाधि जितेका छन् ।

मण्डीखाटारस्थित टेनिस कोर्टमा आइतबार सम्पन्न यु–१६ ब्वाइज तर्फको फाइनल स्पर्धामा अकिले आरभ सम्राट हाडालाई २–१ सेटमा हराउँदै च्याम्पियन भएका हुन् ।

पहिलो सेट ६–१ ले आफ्नो पक्षमा पारेका अकिले दोस्रो सेट ३–६ ले गुमाएका थिए । अन्तिम तथा निर्णायक सेटमा अकिले आरभलाई ६–४ को सेटमा स्तब्ध बनाउँदै उपाधि उचालेका हुन् ।

अकिले आरभलाई पराजित गर्न ३ घण्टा समय खर्चिएका थिए । यस्तै गल्र्स यु–१६ तर्फकै स्पर्धामा सर्भानी श्रेष्ठले रैना शाहमाथि २–० को सोझे जित निकालिन । सर्भानीले दुवै सेट ७–५ ले पक्षमा पार्दै उपाधि उचालेकी हुन् । सर्भानीले रैनालाई हराउन साढे ३ घण्टा लागेको थियो ।

दुवै च्याम्प्यिनले जनही २० हजार रुपैयाँ प्राप्त गरे । विजयी खेलाडीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आइएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल, सदस्य सचिव अञ्जली अर्याल ढकाल, पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी, आइएमई ग्रुपका प्रवक्ता राजु पौडेल र टेनिस प्रशिक्षक कृष्णराज घलले लगायतले पुरस्कार वितरण गरे । सोही अवसरमा विभिन्न उमेर स्पर्धाबाट च्याम्पियन भएका खेलाडीलाई मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राणाले निजी क्षेत्रको तर्फबाट आइएमई ग्रुपले टेनिस खेलको विकास र विस्तारमा गरेको योगदानको प्रशंसा गरे ।

फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले खेलकुदले बालबालिकाको पढाईमा पनि सहयोग पुग्ने बताउँदै प्रतियोगितामा भाग लिने खेलाडीहरु सवै च्याम्पियन हुने बताए ।

पूर्वएआईजी भण्डारीले आइएमई जस्तो संस्थाले बालबालिकाहरूलाई टेनिस खेलमा अभ्यस्त बनाउन गर्दै आएको योगदानको प्रशंसा गरे ।

आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्गत सञ्चालन गरिएको प्रतियोगितामा देशै भरका कुल १ सय ५ खेलाडीले सहभागिता जनाएका थिए । गल्र्सतर्फ ४५ र ब्वाईज तर्फ ६० खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्थाहो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित